हात्तीले जुडिबेलामा दैनिकी घर भत्काउन थालेपछि स्थानीयद्वारा वन कार्यालय घेराउ

रुपेन्द्र पटेल
रौतहट, २९ असार। रौतहटको चन्द्रपुर नगरपालिका–२  जुडिबेलामा जङ्गली हात्तीले पटक–पटक घर भत्काउन थालेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । हात्तीको आतङ्कले दैनिकी त्रसित बनेपछि स्थानीयले आइतबार दिउँसो डिभिजन वन कार्यालय रौतहटमा धर्ना दिँदै कडा विरोध जनाएका छन् ।
सयौंको संख्यामा जुटेका जुडिबेलावासीले जङ्गली हात्ती नियन्त्रण गर्न डिभिजन वन कार्यालयले कुनै ठोस पहल नगरेको आरोप लगाउँदै आक्रोश पोखेका हुन् । उनीहरुले हात्ती नियन्त्रण गरेर सुरक्षित स्थानमा सार्नुपर्ने मागसहित कार्यालय घेराउ गरेका छन् ।
स्थानीय शंकर चौधरीका अनुसार, शनिबार राति मात्र पाँचवटा हात्तीको समूह जुडिबेलामा पसेर चारजना स्थानीयको घर भत्काएको छ । स्थानीय बसिन्दा दिपा बल, दिलबहादुर राई, लाल बाबू मुक्तान र किरण बम्जनको घर हात्तीले भत्काएको चौधरीले बताए । उनका अनुसार, हात्तीको समूहले हरेक रात एक न एक घरमा क्षति पुर्याउने गरेको छ ।
चौधरीले भने, स्थानीयले रातभरि जाग्राम नगरेको भए मानवीय क्षति हुनबाट कसैले जोगाउन सक्दैन । उनका अनुसार, स्थानीयले रातभर सुत्न नपाई हात्ती धपाउने प्रयासमा खटिन्छन् ।
अर्का स्थानीय बासिन्दा राजु पाण्डेले डिभिजन वन कार्यालयको भूमिका प्रति प्रश्न उठाउँदै भने, “हात्ती नियन्त्रण गर्न नसक्नु गैरजिम्मेवारीपनको पराकाष्ठा हो । अब जनताले सहन सक्ने अवस्था छैन ।
घटनाको प्रतिक्रियामा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले भने, हामी हात्ती नियन्त्रणका लागि प्रयासरत छौँ । निकुञ्ज र सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको छ ।
तर स्थानीयले भने तत्कालै हात्ती नियन्त्रणमा लिनुपर्ने, पीडित परिवारलाई राहत उपलब्ध गराउने र दीर्घकालीन समाधानका लागि रणनीति ल्याउन सरोकारवालासँग माग गरेका छन् ।
जंगलसँग टाँसिएको जुडिबेलामा वर्षौंदेखि जङ्गली हात्तीको जोखिम रहँदै आएको भए पनि पछिल्ला दिनमा तीव्ररूपमा बस्तीमा पस्ने क्रम बढेकाले स्थिति भयावह बनेको स्थानीयको गुनासो छ । जनधनको क्षति नहोस् भनेर स्थानीय रातभर जाग्राम बस्न बाध्य छन् ।
सुरक्षा चुनौती, वन प्रशासनको निष्क्रियता र समाधानको अभावबीच जुडिबेलावासीको आक्रोश र पीडा अझ चुलिँदै गएको छ । अब सम्बन्धित निकायले तत्काल ध्यान नदिए झनै ठूलो क्षति हुन सक्ने स्थानीयको भनाइ रहेको छ ।

ताजा समाचार

Related Articles