रुपेन्द्र पटेल
रौतहट, ९ असार । चन्द्रपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब २१ करोड ५९ लाख ५१ हजार ६ सय ४० रुपैयाँको बजेट प्रस्ताव गरेको छ । सोमबार चन्द्रनिगाहपुरमा सम्पन्न नगरसभाको १५औँ अधिवेशनमार्फत नगर उपप्रमुख जयमाला चौधरीले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो ।
उपप्रमुख चौधरीले बजेट प्रस्तुत गर्दै अघिल्ला वर्षमा थालिएका तर अधुरा रहेका योजनाहरूलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो। करिब ६ करोड रुपैयाँको लागतमा निर्माणाधीन शीतभण्डार आउँदो वर्षभित्र सम्पन्न गरिने योजना समेत बजेटमा समावेश गरिएको छ । उहाँले नगरलाई बालश्रम मुक्त र बालविवाह मुक्त क्षेत्र घोषणा गर्नका लागि विशेष कार्यक्रम सञ्चालन गरिने पनि बताउनुभयो ।
नगरसभामा बोल्दै रौतहट क्षेत्र नं ४ (क) का प्रदेशसभा सदस्य युवराज भट्टराईले विकास निर्माणका काममा सबै जनप्रतिनिधि एकजुट हुनुपर्नेमा जोड दिनुभयो। चन्द्रपुर नगरको समुन्नत विकासका लागि निरन्तर सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि सहयोग जारी रहने उहाँको भनाइ थियो । नगर प्रमुख संजय कुमार काफ्लेले जनताको मागलाई सम्बोधन गर्नेगरी बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँका अनुसार सबै क्षेत्र समेटिने गरी समावेशी ढंगले बजेट निर्माण गरिएको हो ।
गत आर्थिक वर्ष २०८१/०८२ मा चन्द्रपुर नगरपालिकाले १ अर्ब ४७ करोड ३६ लाख १८ हजार ८ सय २३ रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो वर्षको तुलनामा यस वर्ष २५ करोड ७७ लाख रुपैयाँले बजेट घटाइएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रौतहटका विभिन्न पालिकाहरूले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै क्रमशः नगरसभा सम्पन्न गरिरहेका छन् । आइतबारसम्म जिल्लाका ८ वटा पालिकाले बजेटसहित नगरसभा सम्पन्न गरेका छन् भने अधिकांश पालिकाहरूले दिगो विकास, रोजगारी सिर्जना, गरिबी निवारण, कृषि, पर्यटन, खानेपानी तथा भौतिक पूर्वाधारलाई समेत बजेटमा उच्च प्राथमिकतामा राखेका छन् ।

