राजपुरको विद्यालयलाई ज्योति बैंकको शैक्षिक उपहार

रौतहट, १० असार । संस्थागत सामाजिक उत्तरदायित्व (सि एस आर) अन्तर्गत ज्योति विकास बैंकले रौतहटको राजपुर नगरपालिका–७ स्थित श्री सरस्वती सदन आधारभूत विद्यालयलाई १०० थान पुस्तक प्रदान गरेको छ।

चन्द्रपुर शाखाका प्रबन्धक सुरज देवकोटाको उपस्थितिमा आयोजित विशेष कार्यक्रममा पुस्तकहरू विद्यालयका प्रधानाध्यापक मनी शंकर निधिसहित अन्य शिक्षकहरूलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बोल्दै शाखा प्रबन्धक देवकोटाले बैंकले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्वबोध अन्तर्गत विभिन्न विद्यालय तथा संस्थामा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग गर्दै आएको जानकारी दिए। उनले आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए।

श्री सरस्वती सदन आधारभूत विद्यालयका प्रधानाध्यापक निधिले पुस्तक प्राप्तिप्रति आभार व्यक्त गर्दै साना बालबालिकामा नैतिक तथा व्यवहारिक शिक्षाको विकासका लागि यस्तो सहयोग उपयोगी हुने बताए। साथै, पुस्तकले विद्यार्थीहरूको आत्मबल बढाउन मद्दत पुग्ने धारणा व्यक्त गरे।

उनले भने, “आजको युगमा विद्यार्थीहरूको समग्र विकासका लागि अतिरिक्त शैक्षिक सामग्री अपरिहार्य छन्। यस्तो सकारात्मक सहयोगले विद्यार्थीमा पढ्ने बानीको विकास पनि गराउँछ।”

देशभर आम नागरिकको विश्वास र भरोसा बटुल्न सफल ज्योति विकास बैंकले हालसम्म १२१ वटा शाखा कार्यालय, ३ एक्सटेन्सन काउन्टर तथा ७५ वटा एटिएममार्फत ग्राहकमुखी सेवा प्रदान गर्दै आएको छ।

बैंकको यस प्रकारको शैक्षिक सहयोगले ग्रामीण क्षेत्रका विद्यालयहरूमा शैक्षिक वातावरण सुदृढ हुनाका साथै सामाजिक उत्तरदायित्वको उदाहरणीय अभ्यास देखिएको छ।

ताजा समाचार

Related Articles