रौतहट, ५ असार । मधेश प्रदेशको सामाजिक विकासका सूचकहरूमा पछाडि परेको रौतहट जिल्लाका महिलाहरूका लागि एक उत्साहजनक अवसर आउन लागेको छ। महिला सशक्तिकरण र हरित उद्यम प्रवर्द्धनको लक्ष्यसहित अक्सफाम नेपालले ‘इमपावरिङ हर’ परियोजना सुरु गरेको छ। जलवायु–अनुकूलित समुदाय निर्माणका लागि महिलाको आर्थिक र राजनीतिक नेतृत्व विकास गर्ने लक्ष्य लिएको यो परियोजना अब रौतहटका वृन्दावन र राजदेवी नगरपालिकामा कार्यान्वयनमा जाँदैछ।
यो तीन वर्षे राष्ट्रिय परियोजना कोरिया सरकारको कोइकाको साझेदारीमा सुरु गरिएको हो। परियोजनामा अक्सफाम नेपाल, निड्स नेपाल र आरडीएसी नेपालको सहकार्य रहनेछ। परियोजनाको लागि २ मिलियन अमेरिकी डलर बराबरको बजेट विनियोजन गरिएको छ।
‘इमपावरिङ हर’ परियोजनाले मौसमी आप्रवासी परिवारहरूमा आर्थिक उत्थानशीलता निर्माण गर्ने लक्ष्य लिएको छ। रौतहटमा श्रमका लागि विदेश जाने युवाको संख्या अत्यधिक छ। घरमा बाँकी महिलाहरूले सधैं जस्तो दोहोरो बोझ बहन गर्दै आएका छन् , गृहस्थी र कृषि दुबैको जिम्मेवारीसँगै आर्थिक कठिनाइ पनि उनकै काँधमा पर्छ।
यसै विषयमा अक्सफाम नेपालकी देशीय निर्देशक तृप्ती राई भन्छिन् ,यो परियोजनाले मधेश र सुदूरपश्चिममा महिला सशक्तिकरणको अनुपम अवसर ल्याएको छ। अक्सफामले देशभर लैंगिक न्याय, जलवायु न्याय, आर्थिक न्याय, जल सुशासन, र मानवीय सहायता कार्यमा केन्द्रित रहेर काम गर्दै आएको उनले बताइन्।
परियोजना वृन्दावन नगरपालिका र राजदेवी नगरपालिकाका वडाहरूमा कार्यान्वयन गरिने छ। यस्तै सुदूरपश्चिमको भीमदत्त नगरपालिका पनि परियोजनाको क्षेत्र हो।
कार्यक्रममा अक्सफाम नेपालकी लैंगिक न्याय प्रमुख सोनि प्रधानले प्रस्तुत गर्दै भनिन्, “भीमदत्त नगरपालिकाको वडा ९ मा पाइलट प्रोजेक्टका रूपमा काम गरियो, जहाँ हरित उद्यममा महिलाहरूको नेतृत्व विकास गरियो। त्यसले परियोजना विस्तार गर्न हौसला दिएको हो।”
राजदेवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलभ कायस्थ भन्छन्, “रौतहट सामाजिक रूपमा जटिल संरचनाले भरिएको जिल्ला हो। पितृसत्तात्मक सोच, शिक्षा र स्वास्थ्य पहुँचको न्यूनताको कारण महिलाहरू झन् पछि परिरहेका छन्। यो परियोजनाले तिनै बाधाहरू तोड्ने अपेक्षा गरेका छौं।”
उनले थपे, “सरकार र विकास साझेदारहरूले एकै लक्ष्यमा काम गर्न जरुरी छ। प्रवासी युवाहरूलाई स्वदेशमै टिकाउन उद्यमशीलता र रोजगारी निर्माण अपरिहार्य छ।”
कोइकाका देशीय निर्देशक कङ मु ह्योनले रौतहट र कञ्चनपुर परियोजनाका लागि चयन हुनुको कारण बताए, “यी जिल्लाहरू जलवायु–आधारित जोखिममा छन्। विपद् आउँदा पुरुष बाहिर जान बाध्य हुन्छन्, महिलाहरूले सबै जिम्मेवारी सम्हाल्नुपर्ने हुन्छ। तर तिनै महिलाहरू निर्णय प्रक्रियाबाट बाहिर हुन्छन्। त्यसैले यो परियोजना आवश्यक भएको हो।”
नेपाल सरकार अन्तर्गत समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले परियोजनाको प्रभाव दिगो विकास लक्ष्य ९क्म्न्क०सँग जोडिएको बताए। “यो परियोजना केवल वित्तीय आत्मनिर्भरता होइन, मौसमी बसाइँसराइ घटाउने, महिला नेतृत्व विकास गर्ने, र उद्यमशिलता विस्तार गर्ने दृष्टिकोणसहित ल्याइएको छ,” उनले बताए।
अक्सफामले सन् १९८० देखि नेपालमा सरकार, नागरिक समाज, महिला र युवा सँगै काम गर्दै आएको छ। खासगरी मधेशजस्ता प्रदेशहरूमा उसले जलवायु न्याय, महिला सशक्तिकरण, र विपद् प्रतिकार्यका क्षेत्रमा गहिरो काम गर्दै आएको छ। यसपटकको ‘इमपावरिङ हर’ परियोजना पनि रौतहटको पिछडिएको सामाजिक संरचनाभित्र गहिरिएर काम गर्ने उद्देश्यले अघि सारिएको हो।
रौतहटको महिला सशक्तिकरणका लागि ‘इमपावरिङ हर’ केवल एउटा परियोजना नभएर सामाजिक परिवर्तनको प्रयास हो। मौसमी आप्रवासनको चक्र तोड्दै महिलालाई नेतृत्वमा स्थापित गर्न यो कार्यक्रम निर्णायक बन्न सक्नेछ।

