रौतहट, ३ असार । कटहरिया नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५४ करोड २५ लाख ५२ हजार ४ सय ७५ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। आज बसेको नगरपालिकाको एघारौँ नगरसभामा नगरप्रमुख अजय प्रकाश जैयसवालले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्दै समावेशी विकास र सेवा प्रवाहमा केन्द्रित नीति तथा कार्यक्रम समेत सार्वजनिक गरेका हुन्।
बजेटको स्रोततर्फ नगरपालिकाले आन्तरिक आम्दानीबाट ४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ भने संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट १० करोड ९९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी, सशर्त अनुदानमार्फत २० करोड ३२ लाख ५० हजार ९७२ रुपैयाँ, राजस्व बाँडफाँटबाट १० करोड २८ लाख ६१ हजार ३७१ रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ।
प्रदेश सरकारबाट आउने वित्तीय समानीकरण अनुदान ७५ लाख ६५ हजार र राजस्व बाँडफाँटमार्फत ६१ लाख ७४ हजार ८९० रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। स्थानीय तहको राजस्व बाँडफाँट अन्तर्गत ७ करोड २८ लाख २ सय ४२ रुपैयाँ आम्दानी हुने नगरले जनाएको छ।
नगरप्रमुख जैयसवालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरवासीको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित विविध योजनाहरु अघि सारे। उनका अनुसार नगर क्षेत्रभित्र स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, खानेपानी, पूर्वाधार विकास, लैङ्गिक समानता, विपद् व्यवस्थापन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिनेछ।
“नागरिकलाई संक्रमणजन्य रोग र बिपद्बाट सुरक्षित राख्न र जनजीवनलाई सहज बनाउन हाम्रो नीति स्पष्ट छ,” प्रमुख जैयसवालले भने, “साधन–स्रोतको अधिकतम प्रयोग गर्दै नगरको आर्थिक तथा सामाजिक विकासलाई गति दिनेछौं।”
उनले कृषि तथा पशुपालन क्षेत्रको विस्तारसँगै उत्पादनमा वृद्धि गर्ने, प्रविधिको प्रयोगमा जोड दिने र योजनाहरू तोकिएको समयमा कार्यान्वयन हुने सुनिश्चितता गर्ने उल्लेख गरे। साथै, लक्षित वर्गको सशक्तीकरण, सबै बस्तीमा पिउन योग्य पानीको सहज पहुँच, नागरिक सुनुवाइको संयन्त्र सञ्चालन लगायतका कार्यक्रम पनि आगामी वर्षमा लागू गरिनेछन्।
नगरसभामा प्रस्तुत नीति अनुसार, सहकारी, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, पूर्वाधार निर्माण, वातावरण संरक्षण, कर्मचारी व्यवस्थापन तथा वित्तीय अनुशासनजस्ता विषयमा कार्य गर्ने तयारी गरिएको छ।
नगरप्रमुखले जनताको अपेक्षाअनुसार सेवा प्रवाह सुनिश्चित गर्न सबै तहमा जवाफदेहिता कायम गर्दै नगर प्रशासनले काम गर्ने विश्वास दिलाए ।

