रौतहट, ३ असार । ग्रामीण विकास केन्द्र (RDC) नेपालको आयोजनामा तथा वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा सञ्चालित ‘एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना’ अन्तर्गत प्राथमिक उपचार तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त तालिम २०८२ जेठ २९ गते देखि असार १ गते सम्म चन्द्रपुरमा सञ्चालन गरिएको थियो। तालिमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी, रौतहटका अनुभवी प्रशिक्षकहरू घनश्याम सुन्दर श्रेष्ठ, संजय यादव तथा उमेश कुमार चन्द्रवंशीले गर्नुभएको थियो।
चारदिने तालिममा प्राथमिक उपचारका विविध विषयमा सहभागीहरूलाई सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरियो। मुख्य रूपमा प्राथमिक उपचारको पृष्ठभूमि, उद्देश्य र सिद्धान्तहरू, प्राथमिक उपचारकर्ताको भूमिका र जिम्मेवारी, प्रारम्भिक परीक्षण, शारीरिक परीक्षण, कृत्रिम श्वासप्रश्वास (CPR), बेहोसी अवस्था, रक्तस्राव, चोकिङ, मनोवैज्ञानिक प्राथमिक उपचार, विष सेवन, डुब्ने अवस्था, सर्पदंश तथा आगलागी वा विस्फोटबाट घाइते भएका अवस्थाको व्यवस्थापन सम्बन्धी सीपहरूमा गहिरो अभ्यास गराइयो।
तालिमको अन्त्यमा सहभागीहरूले ‘प्राथमिक उपचार सेवा शपथ’ ग्रहण गरेका थिए, जसले उनीहरूमा सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई अझ सशक्त बनाएको छ।
सहभागी अनु कुशवाहाले अनुभव सुनाउँदै भन्नुभयो, “दुर्घटना हुँदा सहयोग गर्न मन लाग्थ्यो, तर के गर्ने थाहा नहुँदा असहज महसुस हुन्थ्यो। अहिले भने म आत्मविश्वासका साथ आपतकालीन अवस्थामा घाइतेलाई सहयोग गर्न सक्ने अवस्थामा पुगेकी छु।” उनले थप भनिन्, “मैले यहाँ सिकेका ज्ञान र सीपहरू रुपान्तरण सत्रमार्फत अन्य सहभागीहरूमा पनि स्थानान्तरण गर्नेछु।”
अन्य सहभागीहरूको अनुहारमा देखिएको आत्मविश्वास र उत्साहले तालिम व्यावहारिक तथा प्रभावकारी भएको स्पष्ट प्रमाणित गरेको थियो। परियोजनाका कार्यक्रम अधिकृत कुन्दन प्रसाद कुशवाहाले परियोजनाको बारेमा जानकारी दिनुभएको हो।

