वृन्दावनमा मेयर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै, नौ वडाका टिम प्रतिस्पर्धामा

रुपेन्द्र पटेल
रौतहट, १ असार । रौतहटको वृन्दावन नगरपालिकामा नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। स्थानीय युवा खेलाडीहरूलाई लक्षित गर्दै आयोजना गरिने प्रतियोगिता भोलि (सोमबार) बाट सुरु हुनेछ। प्रतियोगिता वडा नं. ७ स्थित रूपा नेपाली माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले जानकारी दिए।
नगरप्रमुख विनोदप्रसाद कुर्मीको विशेष पहलमा हरेक वर्ष आयोजना गरिँदै आएको यो प्रतियोगिता यसपटक पनि नगरभित्रका सबै नौ वडाका टिमहरूको सहभागितामा सम्पन्न हुनेछ । खेलकुदको माध्यमबाट युवाहरूमाझ आपसी मेलमिलाप, नेतृत्व विकास र स्वास्थ्यप्रतिको सचेतना बढाउने उद्देश्यले मेयर कप सञ्चालन हुँदै आएको हो।
नगरप्रमुख कुर्मीले भने, “क्रिकेटप्रति बढ्दो युवाको लगाव र प्रतिभालाई उजागर गर्ने माध्यमका रूपमा मेयर कपलाई लिइएको छ। नगरको खेल संस्कृति बलियो बनाउन यो प्रतियोगिता सहयोगी बन्नेछ।”
प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जानकारी दिएको छ। उद्घाटन खेलमा कुन वडाका टिमहरू भिड्नेछन् भन्ने टुंगो लगाउने कार्य अन्तिम छलफलमा रहेको बताइएको छ। प्रतियोगिता नकआउट चरणमा सञ्चालन गरिनेछ भने फाइनल खेल एक हप्ता भित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ।
स्थानीय विद्यालय र युवा क्लबहरूको समन्वयमा आयोजना हुने प्रतियोगितामा नगरपालिकाले आवश्यक प्राविधिक, भौतिक तथा आर्थिक सहयोग गरेको छ। नगर प्रमुख कुर्मी स्वयं उद्घाटन कार्यक्रममा उपस्थित हुने जनाइएको छ।
यस किसिमको प्रतियोगिताले वृन्दावन नगरपालिकाभित्रका युवा खेलाडीहरूलाई स्थानीय स्तरमै प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।

ताजा समाचार

Related Articles