रौतहट, २३ जेठ । हरेक वर्ष जुन ५ तारिखमा मनाइने विश्व वातावरण दिवस यस वर्ष पनि रौतहट जिल्लामा विशेष उत्साहका साथ मनाइएको छ। “प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व” (Beat Plastic Pollution) भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रम डिभिजन वन कार्यालय रौतहटको समन्वयमा वृक्षारोपण गर्दै सम्पन्न भएको हो।
कार्यक्रम चन्द्रपुर नगरपालिका–६ स्थित डाबरी पिकनिक पार्कमा वृक्षारोपण गर्दै मनाइएको हो। कार्यक्रमको आयोजना डिभिजन वन कार्यालय रौतहटले गरेको हो भने अक्सफाम नेपाल तथा ग्रामीण विकास केन्द्र नेपाल (आर डि सी नेपाल) द्वारा सञ्चालित “जलवायु जोखिम तथा संकटासन्नताको लागि सामुदायिक उत्थानशील परियोजना”ले आवश्यक प्राविधिक सहयोग र समन्वयको जिम्मेवारी वहन गरी कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जय कुमार काफ्ले, विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरू, डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साह, इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रतिनिधि, रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष भिभु पोखरेल, लायन्स क्लब, सामुदायिक वन उपभोक्ता समूहहरु, चन्द्रपुरका विभिन्न सहकारी संस्था, शैक्षिक संस्था मुनलाइट बोर्डिङ, चन्द्र ज्योति बोर्डिङ र बालानिकेतन बोर्डिङ स्कुल लगायतका ४०० जना बढीको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा विभिन्न जातका ३५० वटा बिरुवा रोपिएको आरडीसी नेपालका फिल्ड अफिसर ज्योति फुयालले जानकारी दिइन्। उनका अनुसार वातावरण संरक्षणको सन्देश दिनका साथै प्लाष्टिकजन्य फोहोर व्यवस्थापन, समुदायस्तरबाट सचेतना तथा दीर्घकालीन वन संरक्षणका लागि वृक्षारोपण कार्यक्रम अत्यन्त महत्वपूर्ण छ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले प्लास्टिक प्रदूषणले मानव स्वास्थ्य, जैविक विविधता र वातावरणमा पार्ने असरबारे सचेत गराउँदै भने, “अब हाम्रा नीति र व्यवहार दुवै परिवर्तन गर्नुपर्ने बेला आएको छ। समुदायको सक्रिय सहभागिता विना वातावरण संरक्षण सम्भव छैन।”
त्यस्तै, नगरप्रमुख सञ्जय कुमार काफ्लेले स्थानीय सरकार वातावरणप्रति संवेदनशील रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा बालबालिकाहरूले प्लास्टिकको प्रयोग घटाउन विभिन्न नारा र चित्रमार्फत वातावरणीय सन्देश सम्प्रेषण गरेका थिए। वृक्षारोपणमा सहभागीहरूमध्ये अधिकांश सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरू थिए, जसले आ–आफ्नो क्षेत्रमा रोपिएका बिरुवाको संरक्षण जिम्मा लिने प्रतिबद्धता जनाए।
चन्द्रपुर–६ को डाबरी पिकनिक पार्कमा गरिएको यो वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणमा स्थानीय सहभागिताको सकारात्मक सन्देश प्रवाह गरेको छ। संयोजक संस्था आरडीसी नेपालले आगामी दिनहरूमा समेत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।
ग्रामिण विकास केन्द्र नेपालका कार्यक्रम संयोजक चिरञ्जीवी महतोले विभिन्न सामुदायिक वन उपभोक्ता समूह, साझेदारी वन, धार्मिक वन, लगायतका सम्पूर्ण वनहरूलाई अन्तर सामुदायिक वन वृहत वृक्षारोपण प्रतिष्पर्धामा सहभागिताका लागि आह्वान गर्नुभएको छ। अक्सफाम नेपाल तथा ग्रामीण विकास केन्द्र नेपाल (आर डि सी नेपाल) द्वारा सञ्चालित “जलवायु जोखिम तथा संकटासन्नताको लागि सामुदायिक उत्थानशील परियोजना” अन्तर्गत संचालन हुन लागेको यस प्रतिष्पर्धामा सहभागी हुन आउने सामुदायिक वनहरूले कम्तिमा एक हेक्टर जमिनमा वृक्षारोपण गर्नुपर्ने उहाँहरुले जानकारी गराउदै सूचना सार्वजानिक गर्नु भयको थियो ।
यस बृहत वृक्षारोपण कार्यक्रममा प्रतिष्पर्धी सहभागीहरुको कार्य मुल्यांकन गर्नको लागि मूल्याङ्कन समिति गठन भएको छ। यस समितिले विभिन्न चरणहरूमा गएर अनुगमन गरि प्रथम द्वितीय र तृतीयलाइ क्रमश: १ लाख, ५० हजार र २५ हजार बरावरको पुरष्कारको व्यवस्था गरेको भने जानकारी गराएको छ साथै आर डी सी नेपालले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

