वीरगञ्ज, २१ जेठ । वीरगञ्जमा विद्युत्, इन्टरनेट, र सञ्चार सेवाका अलपत्र तार व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय पर्साले १५ दिने अल्टिमेटम दिएको छ। मंगलबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले सेवा प्रदायक कम्पनीहरूलाई तार चिन्ने, ट्याग लगाउने, पुराना हटाएर नयाँ तार राख्ने, र आफ्नो तारको विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो।
कार्य सुरु वीरगञ्ज महानगरबाट गरिने र १५ दिनभित्र तार व्यवस्थापन सक्ने निर्णय भएको छ। कामको अनुगमनका लागि डीएसपी किशोर लम्सालको संयोजकत्वमा टोली गठन गरिएको छ। समयमै कार्य नगर्ने कम्पनीहरूलाई कारबाही गरिने छ। समन्वयको जिम्मा नेपाल टेलिकम प्रादेशिक कार्यालय, श्रीपुरलाई दिइएको छ।

