रौतहट, ५ जेठ । रौतहटको राजपुर नगरपालिका वडा नम्बर ४ मा औषधी पसलको अनुगमन गर्न गएका सरकारी टोलीमाथि स्थानीयको समूहले हातपात गर्दै आक्रमण गरेका छन् । फार्मेसी दर्ता नगरी औषधी विक्री वितरण गर्दै आएको उजुरीका आधारमा अनुगमनमा खटिएको औषधी व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगञ्जको टोलीमाथि आक्रमण हुँदा दुई जना कर्मचारी घाइते भएका छन् ।
घटनामा फार्मेसी निरीक्षक ओमप्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा सामान्य घाइते भएको र उनीहरूको अवस्था समान्य रहेको विभागीय प्रमुख शम्भु साहले जानकारी दिए ।
अनुगमन टोलीमा औषधी व्यवस्था विभागसँगै जिल्ला प्रशासन कार्यालय रौतहटका खरिदार उमेशप्रसाद र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रुद्रराज कँडेल समेत सहभागी थिए । स्थानीयले प्रतिकारका क्रममा निरीक्षक कँडेलको मोबाइल फोनसमेत तोडफोड गरेका छन् ।
घटनाको क्रममा राजपुर नगरपालिका वडा नम्बर ५ की ५५ वर्षीया सुमित्रा देवीले सरकारी कर्मचारीलाई जोगाउने प्रयास गर्दा उनी आफैं घाइते भएकी छन्। उनको अहिले प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ ।
अनुगमन टोलीले स्थानीय शेख नेक महम्मदले हार्डवेयर पसलको आवरणमा वर्षौंदेखि औषधी पसल सञ्चालन गर्दै आएको उजुरीको आधारमा सोही स्थानमा छापा मारेको थियो। पसल न त दर्ता थियो, न त विक्री वितरणको अनुमति नै। त्यहाँबाट केही प्रतिबन्धित औषधीसमेत फेला परेको जनाइएको छ ।
आक्रमणपछि अनुगमन टोलीको कागजात खोसेको र कर्मचारीको सुरक्षामा गम्भीर समस्या आएको भन्दै प्रहरीको थप टोली घटनास्थलमा पुगेर उद्धार गरेको खरिदार उमेशप्रसादले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको र दोषीमाथि कानुनी कारवाही हुने बताएका छन् । सार्वजनिक सेवा प्रवाहका लागि खटिएको सरकारी टोलीमाथि आक्रमण गम्भीर अपराध हो । कानुन हातमा लिने जोकोहीमाथि कडाइका साथ कारवाही हुनेछ,“ उनले भने ।
यो घटना स्थानीय प्रशासन र कानुनी निकायहरूका लागि गम्भीर चुनौतीको संकेत हो । राज्यका प्रतिनिधिमाथि यस्तो आक्रामक व्यवहारले औषधीजस्तो संवेदनशील क्षेत्रमा भइरहेको अनियमितता कति गहिरो छ भन्ने देखाउँछ । औषधीजस्तो जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा अवैध कारोबारलाई जोगाउन स्थानीयबाटै प्रतिकार हुनु राज्य शासनको उपहास हो । यसले प्रदेशभरका अन्य स्थानहरुमा पनि यस्ता अनियमितता व्यापक रूपमा रहेको आशंका गर्न सकिन्छ ।

