रौतहट, २८ बैशाख । जलवायु परिवर्तनका कारण उत्पन्न भइरहेका जोखिम र संकटासन्न अवस्थाहरूको सामना गर्न रौतहट जिल्लाको चन्द्रपुर र गुजरा नगरपालिकामा “जलवायु जोखिम तथा संकटासन्नताको लागि सामुदायिक उत्थानशील परियोजना (बिसीआरसी)” सुरु गरिएको छ । अक्सफामको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामिण विकास केन्द्र नेपालमार्फत सञ्चालन हुने यो परियोजना सन् २०२५ अप्रिलदेखि २०२६ मार्चसम्म लागू हुनेछ ।
२ करोड २१ लाख २७ हजार ६१९ को बजेटमा सञ्चालित यस परियोजनाले १२९४ जना प्रत्यक्ष लाभान्वित बनाउने लक्ष्य राखेको छ भने ५४ हजारभन्दा बढी व्यक्तिहरु अप्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
परियोजनाको मूल उद्देश्य समुदायको नेतृत्वमा जलवायु अनुकूलन योजना निर्माण गर्नु, जीविकोपार्जनको विविधिकरण गर्नु, र समावेशी शासन प्रणालीको प्रवद्र्धन गर्दै जलवायु उत्थानशीलता सुदृढ गर्नु रहेको छ ।
परियोजनाले महिला, साना किसान, सिमान्तकृत तथा संकटासन्न समुदायहरू, समुदायमा आधारित संस्था, र स्थानीय सरकारहरूलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गर्नेछ । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेका समुदायमा प्रभावकारी रूपले पहुँच पु¥याउने उद्देश्यसहित यी समूहहरूलाई प्राथमिकतामा राखिएको हो ।
परियोजनाले समुदायको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न क्षेत्रहरुमा उपलब्धिहरू हासिल गर्ने लक्ष्य राखेको छ ।
जलवायुजन्य असामान्य मौसमी अवस्थाबाट प्रभावित घरपरिवारलाई अनुकूल कृषि सीप र ज्ञान प्रदान गरिनेछ । बाढी, सुख्खा, वन डढेलोजस्ता विपद् जोखिम न्यून गर्दै समुदायको प्रतिरोधात्मक क्षमता विकास गरिनेछ ।
स्थानीय तहमा प्रभावकारी, समावेशी र पारदर्शी जलवायु नीति निर्माण तथा कार्यान्वयनमा जोड दिइनेछ ।
परियोजनाले जलवायु संकट न्यूनीकरणमा सहयोग पु¥याउने निम्न क्रियाकलापहरू संचालन गर्ने बताइएको छ ।
परियोजनासम्बन्धी जानकारी दिन चन्द्रपुर नगरपालिकामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख सञ्जय काफ्लेले परियोजनाले नगरको समृद्धिमा योगदान पु¥याउने विश्वास व्यक्त गरे । नगर उपप्रमुख जयमाला चौधरीले परियोजनाको कार्य पारदर्शी रहेको बताउँदै यसले महिला र किसानलाई सशक्त बनाउने धारणा राखिन् ।
कार्यक्रममा डिभिजन वन कार्यालय रौतहट, सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्यसमिति, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता ग्रामिण विकास केन्द्र नेपालका अध्यक्ष पारस हुसैनले गरेका थिए ।

