चन्द्रपुर, २६ बैशाख । खुट्टामा गोली लागेर घाइते भएको ‘एमगज’ नामक जङ्गली हात्तीलाई यहाँको जुडिबेला र गैडाटारका किसानले औधी माया गर्थे । दया गरेर विभिन्न खानेकुरा दिन्थे, जसले हात्ती स्वस्थ हुँदै गयो । त्यही हात्ती अचेल यहाँका किसानका लागि समस्या भएको छ । गत कात्तिकदेखि चन्द्रपुर नगरपालिका–२ जुडिबेला र वडा नं ३ को गैडाटार क्षेत्रमा बस्दै आएको यस हात्तीले अचेल घर भत्काउन थालेको छ । कृषिबालीमा क्षति पुर्याइरहेको छ ।
हात्तीले गत मङ्गलबार चन्द्रपुर–२ जोगिटोलका एकल महिला फुलमाया कुँवरको उठिबास लगाएको छ । हात्तीले पूरै घर ध्वस्त बनाएको, पकाउने ग्यासदेखि खाने चामलसमेत नष्ट गरेको उनले गुनासो गरिन् । ‘बिरामी हुँदा हात्तीलाई खाना खुवाइयो, उपचारमा हाम्रो पनि चिन्ता थियो । हाल आफ्नै बास उजाडिदियो’, कुँवरले भनिन् ।
हात्तीको आतङ्कले स्थानीय असुरक्षित भएको सोही वडाको पुलामीटोल निवासी उत्तम खड्काले गुनासो गरे । पुलामीटोलकै नजिक हर्दिया खोलाको पोखरीमा दिउँसभरि बस्ने र रात परेपछि हात्ती गाउँ पस्ने गरेको उनले सुनाए । हात्ती आतङ्का कारण केही समयदेखि स्थानीय जङ्गलमा घाँस दाउरा जानसमेत नसकिएको खड्काले बताए ।
हात्तीले जुडिबेलाका खिकबहादुर पन्त, राजेन्द्र ठाकुर, तारजन मगर, रवीन्द्र लामा, प्रदीप बम्जन, शुक्र पुलामी, केशव पाठक, माइला कँडेल, खिक, रवि पुलामी, कमलबहादुर विक, बद्री कार्की, उमेश थापालगायतको घर भत्काइसकेको छ । यसैगरी, चन्द्रपुर–३ गैडाटारमा पनि एक दर्जनभन्दा बढी घर भत्काइएका छन् ।
वडाअध्यक्ष बोधनाथ देवकोटाले हात्तीको आक्रमणबाट यहाँका सन्तबहादुर रुम्बा, मीना राई, छेनामसिंह लोप्चन, बलीमाया लोप्तन, बोम्जन साइँला, सुबास ठोकर, साइँला गोलेको घर भत्काएको बताएका छन् ।
यही हात्तीको आक्रमणबाट गत कात्तिक १६ गते फतुवा विजयपुर–११ रागी बुटुवा बस्ने ७० वर्षीया पातलीमाया तामाङको ज्यान गएको थियो ।

