राैतहट २६ बैशाख
राैतहटमा सामुदायिक विद्यालयकाे तह घटाउनुका साथै विद्यालय गाभ्ने कार्यकाे शुरुवात भएकाे छ । राैतहटका सामुदायिक विद्यालयहरुमा अध्ययन अध्यापन प्रभावकारी नहुदा विद्यार्थी न्यून हुँदै गएकाे र शिक्षक आवश्यकता भन्दा बढी भएकाले राैतहटका तीन विद्यालयको शैक्षिक तह घटाउने र एक विद्यालयलाई अर्को विद्यालयमा गाभ्ने निर्णय गरेको छ।
राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे नगर शिक्षा समितिको सम्पन्न बैठकले चन्द्रपुर–२ जुडिबेला असनवामा रहेको निम्न माध्यमिक विद्यालय , बसन्तपुरको बसन्त आधारभूत विद्यालय र बडहरवाको जनता प्राथमिक विद्यालयमा विद्यार्थी संख्या न्यून भएकाले कक्षा १-८ सम्म अध्यापन गराउदै आएकाेमा यस शैक्षिक सत्र शैक्षिक तह घटाउने निर्णय गरेको नगरपालिकाले जनाएकाे छ । साे तीन विद्यालयहरूलाई नयाँ शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म मात्र अध्यापनको अनुमति दिइने निर्णय गरिएकाे चन्द्रपुर नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले तराई पाेष्टलाई बताउनु भयाे । त्यस्तैगरी जनप्रिय प्राथमिक विद्यालय नयाँटोल पडहरियालाई श्रीकृष्ण माध्यमिक विद्यालयमा गाभ्ने निर्णयसमेत गरिएको समेत शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले जानकारी दिनु भयाे । विद्यार्थी संख्या लगातार घट्नु र शिक्षक दरबन्दी आवश्यकता भन्दा बढी भएकाले वपद्यालय गाभ्नु परेकाे मण्डलकाे भनाई रहेकाे छ । शिक्षक व्यवस्थापन ‘जहाँ विद्यार्थी, त्यहाँ शिक्षक’ भन्ने मान्यताका आधारमा गरिने” मण्डलले बताउनु भयाेफ। नगर शिक्षा समितिका अनुसार विद्यालय तह घटाइएपछि शिक्षक संख्या पनि घटाइने जनाएकाे छ। शिक्षकहरूलाई समायोजन गरी आवश्यकता अनुसार अन्य विद्यालयमा खटाउने वा दरबन्दी घटाउने प्रक्रिया अघि बढाइने उहाले बताउनु भयाे । विद्यालयहरुलाई सुधार गर्दै लैजानुकाे सट्टामा विद्यालय तह घटाउने र गाभ्ने नगरपालिकाकाे निर्णय उपयुक्त नभएकाे अभिभावकहरुले गुनासाे गरेका छन तर नगरपालिका प्रशासनले स्रोत व्यवस्थापन र गुणस्तरीय शिक्षा दिनका लागि यो कदम आवश्यक भएको दाबी गरेको छ।

