चन्द्रपुर,२३ बैशाख । रौतहटको चन्द्रपुरमा “जय नेपाल कप” क्रिकेट प्रतियोगिता आज मंगलवार देखि आरम्भ भएको छ ।
नेपाली कांग्रेस विद्यार्थी विभाग, रौतहटद्वारा आयोजित “जय नेपाल कप” टी–ट्वान्टी क्रिकेट प्रतियोगिता चन्द्रपुर–८ स्थित बेतौना कोटिहोम क्रिकेट मैदानमा एक भव्य समारोहका बीच उद्घाटन गरिएको हो ।
कार्यक्रम नेपाली कांग्रेस विद्यार्थी विभाग रौतहटका प्रमुख श्यामहरि चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो भने मधेस प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री सुनिल कुमार यादव प्रमुख अतिथि रहनुभएको थियो । उद्घाटन समारोहमा नेपाली कांग्रेसका विभिन्न तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य धनलाल ठोकर, नेपाली कांग्रेस जिल्ला सचिव मिथिलेश कुमार मिश्र, मधेस प्रदेशका प्रवक्ता सूर्यबहादुर थापा, सञ्चार विभाग प्रमुख नितेश कुमार गुप्ता, चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय कुमार काफ्ले, माधवनारायण नगरपालिकाका प्रमुख बैजु यादव, चन्द्रपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष जितेन्द्र चौधरी, वडा नं. ९ का अध्यक्ष नवराज देवकोटा, वडा नं. ५ का अध्यक्ष निलहरि कोइराला, वडा नं. ७ का अध्यक्ष विष्णु उप्रेती, वडा नं. ६ का अध्यक्ष सहदेव केसी र वडा नं. १ का अध्यक्ष बलराम राउत लगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आज सम्पन्न उद्घाटन खेल लक्ष्मी श्री बहुमुखी क्याम्पस, समनपुर र सिधुरेघारी बहुमुखी क्याम्पस, चन्द्रपुरबीच सम्पन्न भएको थियो। टस जितेर पहिले ब्याटिङ रोजेको लक्ष्मी श्री क्याम्पसले निर्धारण गरिएको २० ओभरको खेलमा सबै विकेट गुमाउँदै जम्मा ९३ रन बनाएको थियो। टिमका कप्तान सञ्जय साहले सर्वाधिक ३१ रनको योगदान दिएका थिए।
जवाफी ब्याटिङमा उत्रिएको सिधुरेघारी बहुमुखी क्याम्पसले १९.१ ओभरमा मात्र ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै शानदार जित हात पारेको छ। टिमका लागि आदित्य खड्काले सर्वाधिक २४ रन बनाएका थिए। उत्कृष्ट कप्तानी प्रदर्शनसहित सिधुरेघारीका कप्तान राजेश यादवलाई म्यान अफ द म्याचको उपाधि प्रदान गरिएको छ।
नेपाली कांग्रेस विद्यार्थी विभाग, रौतहटले आयोजना गरेको यो प्रतियोगिता जिल्लाका विद्यार्थी र युवाहरूबीच खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै आपसी मित्रता र सहयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। प्रतियोगिता अन्तर्गत जिल्लाका विभिन्न क्याम्पसहरूबीच प्रतिस्पर्धात्मक खेलहरू आगामी दिनमा सञ्चालन हुँदै जानेछन् ।

