रौतहट २९ चैत्र
रौतहट प्रहरीले भारतीय नम्बर प्लेटको चोरीको एउटा अल्टो कार बरामद गरेको छ । रौतहटको इलाका प्रहरी कार्यालय राजापुरबाट गएको गस्ती टोलीले राजापुर नगरपालिका–३ डमार चौकमा चेकजाँचको क्रममा कागजपत्र नभएको डिएल जीसी क्यू ८२७७ नम्बरको अल्टो कार बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बरामद सो कारको कुल ५ लाख रुपैयाँ मूल्यांकन सहित आवश्यक कारबाहीको लागि शुक्रबार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले तराई पोष्टलाई जानकारी दिनु भयो । त्यसैगरि रौतहट प्रहरीले फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत रौतहटका विभिन्न स्थानबाट १२ जना प्रतिवादीलाई समेत पक्राउ गरिएको रायले बताउनु भयो । जिल्ला अदालत रौतहटबाट दोषी ठहर भएर दण्ड जरिवाना तोकी लामो समयदेखि फरार रहेका फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा बोक्सी आरोप मुद्दाका अनरजित महरा, रामफल महरा, रामापरी देवी, भोजेन्द्र महरा, कुटपिट मुद्दाका राम आधार यादव, प्रमोदी राय, गाली बेइज्जती लगायतका मुद्दाका गरी १२ जना पक्राऊ परेका प्रवक्ता रायले बताउनु भयो । फैसला कार्वान्यनको लागि प्रतिबादीहरुलाई जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला प्रहरीको सूचनामा उल्लेख गरिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा सञ्चालन गरिएको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत झण्डै १ हजार प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।

