रुपेन्द्र पटेल
रौतहट, २६ चैत । रौतहट प्रहरीले लागूऔषध गाँजा र अवैध हतियारसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । गौर नगरपालिका–४ स्थित झोलुंगे पुल हुँदै भारततर्फ गाँजाको तस्करी हुन लागेको गोप्य सूचना प्राप्त भएपछि प्रहरीले सोमबार राति केराबारी क्षेत्रमा निगरानी थालेको थियो । राति करिब २ बजेतिर चार जना व्यक्ति बोरा बोकेर भारततर्फ गइरहेका बेला प्रहरीलाई देखेपछि बोरा फालेर उनीहरु भाग्न थालेका थिए । भाग्ने क्रममा एक युवक बालुवामा चिप्लिएर लडेपछि पक्राउ परेका हुन् । पक्राउ परेका व्यक्ति गौर नगरपालिका–४ टिकुलियाका २१ वर्षीय सावन गिरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए । उनको साथबाट ‘केएफ’ लेखिएको आठ एमएमको तीन राउण्ड जीवित गोली बरामद गरिएको छ । साथै, उनी लडेको स्थानबाट नजिकै माटोमा रहेको अवस्थामा लोड गरिएको कटुवा पेस्तोल पनि फेला परेको प्रहरीले जनाएको छ । भागेका अन्य व्यक्तिहरुले फालेका चार वटा बोरामा प्याक गरिएका ११ वटा साना पोकाबाट करिब एक क्विन्टल ९ किलो लागूऔषध गाँजा बरामद गरिएको छ । पक्राउ परेका युवकलाई मंगलबार अदालतमा पेश गरी म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । फरार अन्य व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको जनाइएको छ ।

