समाचार बाहिरिएपछि एक्सनमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त साह, खयरघारी फाडेको आरोपमा एक जना पक्राउ

रौतहट, २४ चैत । रौतहटको वृन्दावन नगरपालिका–१ स्थित बागमती नदीको बगर क्षेत्रमा अवैध रूपमा बहुमूल्य खयर जातका रुख मासेर खेतीयोग्य जमिन बनाउने कार्य तीव्र बन्दै जाँदा स्थानीय र राष्ट्रिय स्तरमा चासो बढेको छ । उक्त विषयमा  समाचार प्रकाशन हुन थालेपछि डिभिजन वन कार्यालय रौतहट तत्कालै सक्रिय बनेको हो ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहका अनुसार, “समाचार सार्वजनिक भएलगत्तै हाम्रो टोलीले बगर क्षेत्रमा निगरानी बढाएको र अवैध रूपमा वन फाड्नेहरूलाई कानुनी दायरामा ल्याउने कार्य अघि बढाइएको छ ।
साहका अनुसार पञ्चायती कालदेखि जारी बगर अतिक्रमणको समस्या समाधान गर्न समय लाग्ने भए पनि अतिक्रमित भू–भाग फिर्ता ल्याउन दृढ संकल्पका साथ विभाग लागिपरेको छ । आइतबार विहान वन गस्ती टोलीले वृन्दावन नगरपालिका–४ हरैयाका स्थानीय बिल्टु राय यादवलाई खयरघारी वन क्षेत्रमा झाडी बुट्यान फाँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।
वृन्दावन सब डिभिजन वन कार्यालय बलेरीका वन अधिकृत ललन राउत कुर्मीका अनुसार, यादवले पूर्वमा बागमती नदी, पश्चिममा भंगालो, उत्तर र दक्षिणमा खयरघारी र ऐलानी खेतवारी घेरिएको लगभग ०–५–० कठ्ठा क्षेत्रफलको वन क्षेत्रमा खुकुरी प्रयोग गरी अतिक्रमण गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
डिभिजन वन कार्यालय प्रमुख साहले यादवमाथि वन अतिक्रमण ऐन २०७६ अनुसार कारबाही प्रक्रिया सुरु भइसकेको जानकारी दिए । साथै, बगर अतिक्रमणको दीर्घकालीन समाधानका लागि जिल्ला वन क्षेत्र समन्वय समितिको बैठक आह्वान गरी रणनीतिक उपायहरू खोज्ने तयारी भइरहेको उनले बताए ।

ताजा समाचार

Related Articles