रौतहट २१ चैत ।
रौतहटमा जंगली बदेललाई मार्न थापेको पासोमा करेन्ट लागेर एक जना महिलाको ज्यान गएको छ । रौतहटको बृन्दावन नगरपालिकाको वडा नम्बर १ बलेरी गाउमा जंगली बदेल मार्न थापेको बिद्युतिय पासोमा परेर एक साता अगाडी नै बलेरीका स्थानिय रुपनारायण राउतकी बर्ष ५५ का श्रीमति देवी पटेलको मृत्यु भएको थियो तर पासो थाप्ने स्थानियले मृतकको शव बेपता पारेका थिए । एक साता अगाडीबाट महिला बेपत्ता भएको पीडित परिवारले इलाका प्रहरी कार्यालय गरुडामा निवेदन दिएपछि टोलीले अनुसन्धान शुरु गरेको थियो । गत चैत्र १४ गतेका दिनदेखि मृतक महिला बेपत्ता भएपनि प्रहरीमा भने चैत्र १९ गते मात्रै जानकारी आएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि राजन कार्कीले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेको नेतृत्वमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, गरुडा सहितको प्रहरी टोलीले घटनाको अनुसन्धान गर्दै मृतक महिलाको शव बिहीवार अपरान्ह बरामद गरेको कार्कीले तराई पोष्टलाई बताउनु भयो । अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएको समेत उहाले जानकारी दिनु भयो । पक्राउ परेका ३ जना ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको जनाइएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको डिएसपी कार्कीले जानकारी दिएका छन । गाउँकै केही मानिसले जंगली बँदेल मार्न मकैबारीमा थापेको जेआइ बिधुतिय तारको पासोमा करेन्ट लागेर महिलाको मृत्यु भएको जनाइएको छ । एक साता देखी गाडिएकाले मृतक महिलाको शव कुहिन सुरु भएको छ । अनुसन्धान पछी घटनाबारे पूर्ण जानकारी आउने ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।


