जङ्गलमा गाडिएको अवस्थामा महिलाको शव फेला

वृन्दावन,२१ चैत । रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर–१ स्थित बलेरी जंगलमा एक महिलाको शव फेला परेको छ । आठ दिनदेखि बेपत्ता रहेको उक्त महिलाको शव जंगलमा गाडिएको अवस्थामा भेटिएको हो ।
प्रहरीका अनुसार मृतक वृन्दावन नगरपालिका वडा नम्बर–१ निवासी करिब ५० वर्षिय फूलमतिया देवी हुन् । उनी गत १४ गतेदेखि बेपत्ता थिइन् । परिवारले प्रहरीमा बेपत्ता भएको उजुरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो । खोजीका क्रममा तालिमप्राप्त कुकुरको सहयोगमा प्रहरीले जंगलमा गाडिएको अवस्थामा उनको शव फेला पारेको गरुडा प्रहरी प्रमुख डीएसपी राजन कार्कीले जानकारी दिए ।
घटनालाई रहस्यमय भन्दै प्रहरीले हत्या गरिएको हुन सक्ने आशंका गरेको छ । यस सम्बन्धमा गहिरो अनुसन्धान भइरहेको र हालसम्म दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अनुसन्धानका क्रममा थप प्रमाण संकलन भइरहेको र हत्याको कारण पत्ता लगाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपककुमार रायले बताएका छन् ।
उनले घटनास्थलमा थप अनुसन्धान गर्दै सम्भावित अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य अघि बढाएको बताए ।

ताजा समाचार

Related Articles