रुपेन्द्र पटेल
रौतहट, २१ चैत । रौतहटको वृन्दावन नगरपालिका–१ स्थित बागमती नदीको बगर क्षेत्रमा अवैध रूपमा बहुमूल्य खयर जातका रुखहरु मासिने क्रम तीव्र बनेको छ । खेतीयोग्य जमिन बनाउन संगठित रूपले भइरहेको यो विनाश रोकिनुपर्ने माग स्थानीयहरुले गरेका छन् । तर, सम्बन्धित निकाय मूकदर्शक बनेको आरोप लागेको छ ।
वृन्दावन सब डिभिजन वन कार्यालयको क्षेत्रमा खयरका रुखहरु धमाधम फँडानी भइरहेका छन् । डिभिजन वन कार्यालय, रौतहटको लापरवाहीका कारण बागमती नदीले वन क्षेत्र अधिग्रहण गरेको भूभाग खेतीयोग्य जमिनमा परिणत गर्ने कार्य बढ्दो छ । सो क्षेत्रमा रौतहटको मात्र नभइ काभ्रे, मकवानपुर, सिन्धुली लगायतका जिल्लाबाट आएका व्यक्तिहरूले हजारौं हेक्टर बगर क्षेत्र कब्जा गरी खेतीमा परिवर्तन गरिसकेका छन् ।
स्थानीय बासिन्दा राम गणेश पटेलका अनुसार दैनिक रूपमा १० भन्दा बढी ट्रयाक्टरहरू बगर क्षेत्रमा सञ्चालन भइरहेका छन् । उनले वन कार्यालयलाई पटक–पटक जानकारी गराए पनि कुनै कारबाही नभएको गुनासो गरेका छन् । पटेलले वन कर्मचारीकै मिलेमतोमा खयरका रुखहरु मास्ने कार्य भइरहेको आरोप समेत लगाएका छन् । खेत बनाउने नाममा कटान गरिएका हजारौं खयरका रुखहरू बगरबाटै गायब हुने गरेका छन् । तर, वन कार्यालयले हालसम्म खयरको एउटा सिन्का समेत बरामद गर्न सकेको छैन् ।
स्थानीय सुरेश पटेलका अनुसार बगर फँडानी गर्नेहरुले सुरुमा तल झरेको झारपातमा आगो लगाउने र त्यसपछि खयरका रुखहरू फाँडेर खेतीयोग्य जमिन बनाउने गरेका छन् । प्रत्येक वर्ष १०० बिघाभन्दा बढी क्षेत्रफल खेतीयोग्य बनाउने क्रम जारी रहेको बताइएको छ ।
यता डिभिजन वन कार्यालय, रौतहटका प्रमुख हेमन्तप्रसाद साहले भने वन कर्मचारीको संलग्नता नरहेको दाबी गरेका छन् । उनले वन कार्यालय एक्लैले बगर संरक्षण गर्न नसक्ने भन्दै स्थानीय तहको सहयोग आवश्यक रहेको बताएका छन् । साथै, यसबारे छलफल भइसकेको र आवश्यक कदम चालिने उनले जानकारी दिए ।
खयर कटानको वृद्धिले वातावरणीय असन्तुलन निम्त्याउने भन्दै स्थानीयहरुले अवैध रुपमा खयर कटान गरी खेतीयोग्य जमिन बनाउनेहरुमाथि कडा कानुनी कारबाहीको माग गरेका छन् ।






