वृन्दावन, १७ चैत । वृन्दावन नगरपालिका वडा नम्बर १ बलेरीमा सडक ढलान निर्माण कार्यको शिलान्यास गरिएको छ। नगरप्रमुख विनोदप्रसाद कुर्मीले आइतबार आयोजित विशेष समारोहका बीच मुख्य सडकदेखि बुनिलाल राउतको घरसम्म कुल २१५ मिटर लम्बाइ रहेको सडक ढलान कार्यको शिलान्यास गरेका हुन् ।
नगरप्रमुख कुर्मीका अनुसार संघीय सरकारको सशक्त अनुदानबाट प्राप्त रकम प्रयोग गरी नगरपालिकाले यो सडक ढलान कार्य अघि बढाएको हो। कुल ३२ लाख ३३ हजार ९९८ रूपैयाँको लागतमा निर्माण हुन लागेको यो सडक २१५ मिटर लम्बाइ तथा २३ मिटर चौडाइको हुनेछ।
उक्त सडक बर्खायाममा अत्यधिक हिलामे हुने भएकाले स्थानीय बासिन्दाले यसलाई पक्की बनाउन माग गरिरहेका थिए। उपभोक्ता समितिमार्फत निर्माण कार्य अघि बढाइएकाले गुणस्तरयुक्त र समयमै सम्पन्न हुने अपेक्षा गरिएको छ ।
स्थानीयवासीहरूले नगरपालिकाको यो पहलप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै विकासका कामलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।
शिलान्यास कार्यक्रममा वृन्दावन नगरपालिका वडा नम्बर १ का वडा सदस्य बच्चु पटेल, नेकपा एकीकृत समाजवादी पार्टीका वृन्दावन नगर संयोजक सुरेन्द्रप्रसाद पटेल, वृन्दावन प्राथमिक विद्यालयका अध्यक्ष शंकर राउत, युवा नेता सञ्जीव पटेल, बतहु माविका प्रधान अध्यापक उपेन्द्र महतो, समाजसेवी प्रेमलाल पटेल, बजरङ्गी पटेल, अजय पटेल लगायत गाउँका भद्रभलादमीहरूको सहभागिता रहेको थियो ।

