रौतहटका पत्रकारहरूमाथि संगठित बदनाम गर्ने कार्यप्रति नेपाल पत्रकार महासंघको आपत्ति

रौतहट, १३ चैत । पछिल्लो समय सामाजिक सञ्जालमा रौतहटका पत्रकार तथा सञ्चारकर्मीहरूमाथि संगठित रूपमा बदनाम गर्ने कार्य भइरहेको प्रति नेपाल पत्रकार महासंघ, रौतहटले गम्भीर ध्यानाकर्षण जनाएको छ।

नेपाल पत्रकार महासंघ, रौतहटका सचिव गौतम श्रेष्ठको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा केही व्यक्तिहरूले अशिष्ट भाषा प्रयोग गर्दै सञ्चारकर्मीहरूमाथि अनर्गल आरोप लगाउने, गालीगलौज गर्ने तथा बदनाम गर्ने कार्य गरिरहेको उल्लेख छ। महासंघले यस्तो गतिविधिप्रति कडा आपत्ति जनाउँदै पत्रकारिताको मर्यादा र प्रतिष्ठामा आँच आउने कुनै पनि कार्य सह्य नहुने स्पष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ, “कसैको व्यक्तिगत मतभेद वा रिसरागका कारण सम्पूर्ण सञ्चारकर्मीहरूको बदनामी हुनुहुदैन। यदि कसैले कुनै पत्रकारको गैरव्यवहार गरेको छ भने त्यसको उचित प्रक्रियाबाट उजुरी गर्नु पर्दछ। तर, प्रमाणबिना पत्रकारहरूलाई आरोप लगाउने र सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने कार्य निन्दनीय छ।”

महासंघले यस्ता क्रियाकलाप दोहोरिएमा कानुनी कारबाही अघि बढाइने चेतावनी दिएको छ। साथै, सामाजिक सञ्जालमा यस्ता गतिविधिहरू रोक्न सम्बन्धित निकायहरूलाई निगरानी बढाउन आग्रह गरिएको छ।

यसैगरी, महासंघले सम्पूर्ण सञ्चारकर्मीहरूलाई पनि नेपाल पत्रकार महासंघले तोकेको आचारसंहिताभित्र रहेर कार्य गर्न आग्रह गरेको छ । महासंघले निष्पक्ष र उत्तरदायी पत्रकारिताको महत्व पुनः दोहोर्‍याउँदै समाजमा सत्यतथ्य सूचना प्रवाह गर्न सञ्चारकर्मीहरूको भूमिकालाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

ताजा समाचार

Related Articles