रुपेन्द्र पटेल
रौतहट, २५ साउन । रौतहटको फतुवा विजयपुर नगरपालिका–१० दुधिअवामा विद्युत् लाइन सर्ट हुँदा एक घरमा आगलागी भएको छ । आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट हुँदा नगदसहित करिब १९ लाख १३ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
जिल्ला मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ घर भई हाल फतुवा विजयपुर नगरपालिका–१० दुधिअवा बस्दै आएका खरेल इँटा उद्योगका सञ्चालक दिपेन्द्र खरेलको काठले बनेको जस्ताको छाना भएको दुईतले घरमा सोमबार बिहान करिब पौने ८ बजे आगलागी भएको हो ।
विद्युत् लाइन सर्ट भएर आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दुधिअवाबाट प्रहरी सहायक निरीक्षक नरेश यादवको नेतृत्वमा तीन जना प्रहरी घटनास्थलमा पुगेका थिए । त्यसैगरी इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट प्रहरी निरीक्षक रादेश कुमार खत्रीको नेतृत्वमा नौ जना र सशस्त्र प्रहरी बेस विजयपुर लक्ष्मिनियाबाट सशस्त्र प्रहरी निरीक्षक काजीराम श्रेष्ठको नेतृत्वमा नौ जनाको टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा तथा जिल्ला बारा कोल्हबी नगरपालिकाको दमकलको सहयोगमा बिहान ९ः१० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरभित्र रहेको नगद दुई लाख रुपैयाँसहित विभिन्न सामान जलेर करिब १९ लाख १३ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो ।
आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गौतमले बताउनुभयो ।

