रुपेन्द्र पटेल
रौतहट, १३ चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशन अवज्ञा गर्दै सञ्चालनमा रहेको एक निजी अस्पतालका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको गरुडा नगरपालिका-५, शिवनगरस्थित आनन्द हस्पिटल एक्युपञ्चर सेन्टरका सञ्चालक उमेश प्रसाद जयसवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मुख्यमन्त्री सिंहले केही दिनअघि अस्पतालको अनुगमन गर्दै आवश्यक मापदण्ड पूरा नभएको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएका थिए । तर, उक्त निर्देशनको अवहेलना गर्दै अस्पताल सञ्चालन भइरहेको भेटिएपछि प्रहरीले जयसवाललाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय शिवनगरका सई बब्लु कान्त झाको नेतृत्वमा गएको टोलीले आज बिहान ११ बजे उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् डिएसपी दिपककुमार रायका अनुसार जयसवाललाई अनुसन्धानका लागि हिरासतमा लिइएको छ । डिएसपी रायले भने, “प्रदेश सरकारको निर्देशन अनुसार अस्पताल बन्द गर्न भनिएको थियो । तर, किन बन्द गरिएन भन्ने विषयमा सोधपुछ भइरहेको छ ।

