रौतहट २५ साउन
रौतहटको फतुवा विजयपुर नगरपालिका–१० दुधिअवामा विद्युत् लाइन सर्ट हुँदा खरेल इँटा उद्योगका सञ्चालक दिपेन्द्र खरेलको दुई तले घरमा आगलागी भएको छ । सोमबार बिहान करिब पाैने ८ बजे विद्युत् लाइन सर्ट भएर सुरु भएको आगो प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी तथा बाराको कोल्हबी नगरपालिकाबाट आएको दमकलको सहयोगमा बिहान साढे ९ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट काठले बनेको तथा जस्ताको छाना रहेको दुई तले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । घरभित्र रहेको नगद २ लाख रुपैयाँसहित करिब १९ लाख १३ हजार रुपैयाँ बराबरको धनमालमा क्षति पुगेको प्रारम्भिक विवरण प्रहरीले जनाएको छ । घटनामा कुनै मानवीय तथा चौपाया क्षति नभएको बताइएको छ। आगलागीबाट भएको क्षतिको थप विवरण संकलन तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

