वृन्दावन, १२ चैत । वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोदप्रसाद कुर्मीले केही जनप्रतिनिधि तथा विपक्षी पक्षका व्यक्तिहरूले व्यक्तिगत स्वार्थ पूरा नभएका कारण उपसचिव एवं प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलको सरुवाका लागि चलखेल गरिरहेको आरोप लगाएका छन्।
नगरप्रमुख कुर्मीका अनुसार, भुजेल नगरपालिकामा लामो समयदेखि पारदर्शी ढंगले काम गर्दै आएका छन्। उनको नेतृत्वमा विकास निर्माणका कार्यहरू तीव्र गतिमा अगाडि बढिरहेको छ, जसका कारण अनियमितता गर्ने प्रवृत्तिका केही जनप्रतिनिधिहरू असन्तुष्ट भएका छन्।
भुजेलको कार्यकालमा नगरपालिकामा विभिन्न पूर्वाधार निर्माण, जनसेवा प्रवाह तथा सुशासन प्रवर्द्धनका कार्यहरू प्रभावकारी रूपमा अघि बढेको स्थानीयहरू बताउँछन्। तथापि, स्वार्थपूर्ति हुन नसकेका केही पक्षहरू उनको सरुवा गराउन दबाब सिर्जना गर्न लागिपरेको आरोप लागेको छ।
स्थानीय बासिन्दाहरूले नगरपालिकामा राम्रो काम गरिरहेका प्रशासकीय अधिकृतलाई अन्यायपूर्ण रूपमा सरुवा गर्न खोजिनु गलत भएको बताउँदै भुजेललाई निरन्तरता दिनुपर्ने माग गरेका छन्।
यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन स्थानीय स्तरमा छलफलहरू भइरहेको छ। यदि भुजेलको सरुवा जबरजस्ती गरियो भने नगरको विकासमा नकारात्मक असर पर्ने भन्दै स्थानीयवासी तथा नगरप्रमुख कुर्मीले सम्बन्धित निकायलाई सो विषय गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् ।

