हरिवन, १२ चैत । सर्लाहीको हरिवन नगरपालिका–१, भोक्टेनीमा एक ४५ वर्षीय महिला बलात्कारको शिकार बनेपछि प्रहरी अनुसन्धान जारी रहेको छ। घटनामा संलग्न मुख्य अभियुक्त अझै फरार रहँदा, उनलाई हाजिरी जमानीमा छुटाउने इन्द्रदेव महतो पक्राउ परेका छन्।
पीडित महिलाका अनुसार, फागुन २१ गते राति छिमेकी जिवछ महतो कोईरीले घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेका थिए। भोलिपल्टै पीडितले इलाका प्रहरी कार्यालय, हरिवनमा लिखित उजुरी दिएकी थिइन्, जसपछि प्रहरी अनुसन्धान अघि बढाइएको थियो। सोही दिन प्रहरीले अभियुक्त जिवछ महतो कोईरीलाई नियन्त्रणमा लिएको थियो।
तर, अभियुक्तकी आमाको फागुन २० गते निधन भएकाले हरिवन–४, सासापुर निवासी इन्द्रदेव महतोले काज किरिया सम्पन्न भएपछि पुनः उपस्थित गराउने सर्तमा जमानत लिएका थिए। तर, काज किरिया सकिए पनि अभियुक्त प्रहरीसमक्ष हाजिर नभई फरार रहे।
पीडित महिलाले चैत्र ४ गते औपचारिक रूपमा जाहेरी दर्ता गराएकी छन्। यसबीच, पीडित परिवारले घटनालाई ढाकछोप गर्न प्रयास भइरहेको आरोप लगाउँदै आएका छन्। केही स्थानीय नेताहरूले १५ लाख रुपैयाँको सेटिङ मिलाइदिने भन्दै दबाब दिएको पनि परिवारको आरोप छ।
प्रहरीले सोमबार अभियुक्तलाई जमानतमा लिने इन्द्रदेव महतो पक्राउ गरेको छ भने फरार रहेका जिवछ महतोको खोजी तीव्र पारिएको जनाएको छ। पीडित परिवारले न्यायको माग गर्दै दोषीलाई कारबाही गर्न आग्रह गरेको छ।

