रौतहट, २४ फागुन । गौर राइस मिलको जग्गा विवाद प्रकरणमा संसदमा आवाज उठाएका सांसद अमरेश कुमार सिंहको विरोधमा शनिबार पुतला दहन गरिएको छ।
सांसद सिंहले शुक्रबार प्रतिनिधि सभाको बैठकमा उक्त विषयमा प्रश्न उठाएका थिए। त्यसको भोलिपल्टै उनका विरोधीहरुले विरोध प्रदर्शन गर्दै उनको पुतला दहन गरेका हुन्।।
यस घटनापछि सांसद सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत तीव्र प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन्, “गलतलाई गलत भन्न नपाइने? हिजो गौर राइस मिलको जग्गा हिनामिनाबारे संसदमा आवाज उठाउँदा मेरो पुतला दहन गरियो। एक होइन, हजारौं पुतला जलाए पनि म यी चोर, तस्कर, गिट्टी–क्रसर र रक्सी माफियाविरुद्ध पछाडि हट्ने वाला छैन।”
उनले राज्य र जनताको सम्पत्तिमाथि हुने अनियमितता सह्य नहुने बताउँदै भ्रष्टाचार र माफियातन्त्रविरुद्ध निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
गौर राइस मिलको जग्गासम्बन्धी विवाद पछिल्लो समय स्थानीय तहमा चर्चाको विषय बनेको छ। यो विषयमा सांसद सिंहले उठाएको प्रश्नको समर्थन र विरोध दुवै देखिएको छ। अब यो विवाद कसरी अगाडि बढ्छ भन्ने विषय चासोको केन्द्रमा छ। 

