गौरमा सांसद अमरेश सिंहको पुतला दहन

रुपेन्द्र पटेल
रौतहट, २४ फागुन । रौतहटको सदरमुकाम गौरमा सांसद अमरेश सिंहको संसदमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन भएको छ । गौर नगरपालिकाका पदाधिकारीहरु तथा स्थानीय बासिन्दाहरुले गौर राइ मिल बारे सदनमा दिएको अभिव्यक्ति भ्रमपूर्ण र अपमानजनक बताउँदै विरोध प्रदर्शन गरेका छन् ।
शनिबार गौर नगरका सयौं स्थानीय बासिन्दा तथा राजनीतिक दलकानेताहरुले सांसद सिंहको विरुद्धमा प्रदर्शन गर्दै पुतला दहन गरेका छन् । प्रदर्शनकारीरुले “अमरेश सिंह मुर्दावाद“, “गलत आरोपको खण्डन गर“ लगायतका नाराहरु लगाउँदै सिंहको तस्वीमा चप्पल प्रहार गर्दै विरोध जनाएका थिए ।
गौर नगरपालिकाका मेयर शम्भु साहले सांसद सिंहले नगरको प्रतिष्ठामा आँच पु¥याउने गलत अभिव्यक्ति दिएको आरोप लगाउँदै त्यसको प्रमाणित गर्न माग गरेका छन् ।
उनले भने, “यदि सांसद सिंहले आफ्ना आरोपहरु प्रमाणित गर्न सक्छन् भने म आजीवन राजनीति त्याग्न तयार छु, अन्यथा उनी आफैं आफ्नो अभिव्यक्तिको जिम्मेवारी लिनुपर्छ ।
शुक्रबार सांसद सिंहले संसदमा बोलेका अभिव्यक्तिहरुले गौर नगरको राजनीतिक वातावरणलाई झन् तातेको छ । उनले गौर नगरपालिकाका मेयर शम्भु साहलाई पूर्वतस्कर भएको आरोप लगाएका थिए । सिंहले नगरप्रमुख साहको विगतको बानी अहिले पनि नगएको दाबी गर्दै, साहका भाइ हाल भन्सार कार्यालयमा बिचौलियाको भूमिका खेलिरहेको आरोप लगाएका थिए ।
त्यस्तै, सांसद सिंहले नक्कली मोहियानी ठाडा तयार गरेर भारतीय नागरिकलाई नेपाली नागरिक बनाई मोहीको दाबी गर्न लगाएर गौर राइस मिलको जग्गा बिक्री गर्ने प्रयास भइरहेको आरोप पनि लगाएका थिए ।
नगर उपप्रमुख शैल कुमारी साह, नगरप्रवक्ता, वडाध्यक्षहरु, नगर सदस्यहरु तथा स्थानीय वासिन्दाहरु विरोधमा सहभागी भएका थिए । प्रदर्शनकारीहरुले सांसद सिंहको अभिव्यक्तिले गौर नगरको छवि धमिल्याउने काम गरेको दाबी गर्दै तत्काल माफी माग्नुपर्ने माग गरेका छन् ।
प्रदर्शनका क्रममा स्थानीयहरु तथा नगरपालिकाका पदाधिकारीहरुले सांसद सिंहका अभिव्यक्तिविरुद्ध कानुनी कारबाहीको माग गरेका छन् । उनीहरुले यदि माफी नमागे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

ताजा समाचार

Related Articles