मधेशबादी दलहरु अवसरवादको दलदलमा फसे : प्रचण्ड

रुपेन्द्र पटेल
रौतहट, २४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशबादी दलहरु अवसरवादको दलदलमा फसेको आरोप लाएका छन् । रौतहटको परोहा नगरपालिका स्थित लौकाहा बजारमा शनिबार आयोजित तराई–मधेश जागरण अभियान अन्तर्गतका आमसभामा सम्बोधन गर्दै अध्यक्ष दाहालले मधेशबादी दलहरु अवसरवादको दलदलमा फसेको आरोप लगाएका हुन् । अध्यक्ष दाहालले मधेशी जनताको हक–अधिकारका लागि माओवादी केन्द्रले निरन्तर लड्दै आएको र भविष्यमा पनि उनीहरुकै पक्षमा खडा हुने प्रतिबद्धता व्यक्त गरे । उनले मधेश केन्द्रित दलहरू सत्ताको खेलमा अल्झिएको र जनतासँगको सम्बन्ध कमजोर बन्दै गएको बताए ।
अध्यक्ष दाहालले हुलाकी मार्ग हुँदै मधेशी जनताको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको उल्लेख गर्दै शिक्षा, सिंचाइ, यातायात, स्वास्थ्यजस्ता आधारभूत सुविधामा अझै सुधार आवश्यक रहेको बताए । उनले ती समस्याहरु समाधान गर्न माओवादी केन्द्र दृढ भएर लाग्ने आश्वासन दिए ।
उनले तराई–मधेशमा बगेको १,३०० शहीदको रगतकै कारण देशमा गणतन्त्र स्थापना भएको स्मरण गराउँदै शहीदहरुको योगदान बिर्सिन नहुने बताए । साथै, विकासबाट बञ्चित वर्गहरुको पक्षमा माओवादी केन्द्र निरन्तर लड्ने प्रतिज्ञा गरे । अध्यक्ष दाहालले गौर, दुर्गाभगवती गाउँपालिका तथा अन्य क्षेत्रका कार्यकर्तासँग भेटघाट गरेका थिए । गरुडामा स्थानीय व्यापारीहरुसँग अन्तरक्रिया गर्दै उनले व्यापारिक वातावरण सुधार गर्ने विषयमा छलफल गरेका थिए । गौर राइस मिल बचाउ अभियानका सदस्यहरुले अध्यक्ष दाहाललाई ज्ञापनपत्र बुझाउँदै मिलको संरक्षणका लागि हस्तक्षेप गर्न आग्रह गरेका थिए । दाहालले सार्वजनिक सम्पत्तिको रक्षा गर्न सरकार सधैं प्रतिबद्ध रहने विश्वास दिलाए । कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्व सभामुख अग्नीप्रसाद सापकोटा लगायतका नेताहरुले पार्टी बलियो बनाउने धारणा राखेका थिए ।

ताजा समाचार

Related Articles