रुपेन्द्र पटेल
रौतहट, २४ फागुन । रौतहटमा घुमुवा प्रहरी हुँ भन्दै रकम असुली गर्ने एक जना पक्राउ परेका छन् । जिल्लाको गरुडा नगरपालिका–८ बिर्ता चौकमा नक्कली प्रहरी बनेर किसानहरुलाई धम्क्याउँदै रकम असुल गर्ने एक व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वर्ष ४४ का शेख सदरे आलम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम् सुचना अधिकृत दिपककुमार रायका अनुसार आलम आफूलाई घुमुवा प्रहरी (गुप्तचर) बताउँदै किसानहरुलाई मलखाद रोक्ने तथा विभिन्न डर देखाएर पैसा असुल गर्दै आएका थिए । यसबारे सूचना प्राप्त भएपछि बिर्ता प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा उनीमाथि आवश्यक अनुसन्धान भइरहेको रायले बताए । प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै, कुनै पनि व्यक्तिले आफूलाई प्रहरी बताउँदै रकम असुली गर्न खोजेमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ ।
रौतहटमा पछिल्लो समय ठगी, अपराध र नक्कली पहिचानको प्रयोग गरेर हुने आपराधिक क्रियाकलापहरु बढ्दै गइरहेका छन् । प्रहरीले यस्ता गतिविधि रोक्न कडाइ गर्दै दोषीमाथि कानुनी कारबाही अघि बढाउने जनाएको छ ।

