रुपेन्द्र पटेल
रौतहट, २० फागुन । लामो समयदेखि ब्रेन ट्युमर रोगसँग संघर्ष गरिरहेका रौतहटका पत्रकार फणी महतको उपचारका लागि चन्द्रपुर अस्पताल प्रालिले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
चन्द्रपुर अस्पताल प्रालि परिसरमा आयोजित अनौपचारिक कार्यक्रममा अस्पताल परिवारको तर्फबाट एक दिनको तलब बराबरको रकम पत्रकार महतलाई हस्तान्तरण गरिएको हो । साथै, उनलाई जीवनभर निःशुल्क उपचारको व्यवस्था गर्ने प्रतिबद्धता अस्पतालका संस्थापक तथा वरिष्ठ चिकित्सक डा. सुभाष चौधरीले व्यक्त गरेका छन् ।
नेपाल र भारतका विभिन्न अस्पतालमा शल्यक्रिया र उपचार गराए पनि स्वास्थ्यमा सुधार नआएपछि पत्रकार महत आर्थिक समस्यासँग पनि जुधिरहेका हुन् । चन्द्रपुर अस्पतालको सहयोगलाई संचारकर्मी तथा स्थानीय समुदायले मानवता प्रेरित कदम भन्दै सराहना गरेका छन् ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवम् वरिष्ठ पत्रकार शिव पुरी, महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्की, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष यादवराज पुरी लगायतका संचारकर्मीहरूले पत्रकार महतको जीवन रक्षा गर्न सरकारी स्तरबाट थप सहयोगको आवश्यकता रहेको बताए ।
पत्रकार महतले अस्पतालले देखाएको सहानुभूति प्रति कृतज्ञता व्यक्त गरेका छन् । अस्पतालका चिकित्सक तथा कर्मचारीहरूले एक दिनको तलब प्रदान गरेर सहकार्यको भावना प्रकट गरेका छन् ।
समाज सेवामा सक्रिय रहँदै आएका चन्द्रपुर हस्पिटल प्रालिका सञ्चालक तथा डाक्टर सुभाष चौधरीले पत्रकार महतलाई उपचारको लागि निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

