चन्द्रनिगाहपुर, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चन्द्रपुर नगर कमिटीको दोस्रो नगर अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनमा पार्टी संगठनलाई मजबुत बनाउने र समाजवादी आन्दोलनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको हो ।
अधिवेशन नेकपा एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष वीरु रखालको अध्यक्षता तथा पार्टीका केन्द्रीय उप–महासचिव रामकुमार भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उद्घाटन सत्रमा समाजवादी आन्दोलनको महत्व र यसका भविष्यका योजनाहरुबारे छलफल गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले नेकपा (एमाले) र नेपाली कांग्रेसप्रति तीव्र आलोचना गरे । उनले यी दलहरुलाई मुलुकलाई अस्थिरता, भ्रष्टाचार, र सत्ताको खेलमा मात्र केन्द्रित भएको आरोप लगाए । उनले भने, “जनताको असली पार्टी समाजवादी पार्टी हो । एमाले र कांग्रेस सत्ताको स्वार्थमा लिप्त छन् । अबको युग समाजवादको हो ।“
उनले पार्टीको संगठन सुदृढ पार्न नेता तथा कार्यकर्ताहरुलाई एकताबद्ध भएर लाग्न आह्वान गरे । कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सांसद कनिष पटेलले मधेशमा समाजवादी आन्दोलनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए । उनले भने, एमाले र कांग्रेसले मधेशलाई सधैं प्रयोग मात्रै ग¥यो । समाजवादी आन्दोलनले मात्र वास्तविक परिवर्तन ल्याउन सक्छ । उनले मधेश प्रदेशमा गरिबी, बेरोजगारी, र किसानको समस्याप्रति सरकारको ध्यान नगएको भन्दै समाजवादी धारलाई सशक्त बनाउनुपर्ने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि कल्याणी खड्काले पार्टी संगठन बलियो बनाउन निरन्तर मेहनत गर्नुपर्ने बताइन् । उनका अनुसार, नेकपा (एस) ले अघि सारेको समाजवादी नीति नै देशको समृद्धिको एकमात्र उपाय हो ।
अधिवेशनमा विभिन्न नेताहरुले समाजवादी आन्दोलनलाई प्रभावकारी बनाउन रणनीतिक योजनाहरू प्रस्तुत गरेका थिए । छलफलमा पार्टी संगठन विस्तार, जनतासँगको सम्बन्ध मजबुत बनाउने योजना, र भावी रणनीतिहरूको विषयमा विशेष जोड दिइएको थियो ।
नेकपा (एकीकृत समाजवादी) ले समाजवादलाई मात्र नेपालको समृद्धिको सही मार्ग मान्दै स्थानीय तहदेखि राष्ट्रिय तहसम्म संगठन सुदृढ गर्ने रणनीतिमा जोड दिएको छ ।


