रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन

रौतहट, १७ फागुन । माधवनारायण नगरपालिका वडा नं–४, विशुनपूर्वा मानपुर गाउँका वडाध्यक्ष रामदेनी मुखियाको शनिबार विहान आफ्नै निवासमा निधन भएको छ । लामो समयदेखि क्यान्सरसँग लड्दै आएका ६५ वर्षीय मुखियाको आज बिहान ७ बजे निधन भएको हो ।
परिवारका अनुसार, उनी विगत केही वर्षदेखि अस्वस्थ रहँदै आएका थिए । उपचारका लागि विभिन्न अस्पतालहरूमा प्रयास गरिए पनि अन्ततः उनलाई बचाउन सकिएन । उनका छोरा राम कलेबर मुखियाले बुबाको जीवन रक्षा गर्न सक्दो प्रयास गरे पनि उपचार सफल हुन नसकेको जानकारी दिए ।
रामदेनी मुखिया २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीको तर्फबाट वडा अध्यक्षमा विजयी भएका थिए। जनताको विश्वास जित्दै २०७९ सालमा पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका उनी माओवादी पार्टीमा लामो समयदेखि सक्रिय थिए । उनको निधनले माओवादी पार्टीलाई अपूरणीय क्षति पुगेको माओवादीका जिल्ला इन्चार्ज एवं संविधान सभा सदस्य अशोक जयसवालले बताएका छन् ।

ताजा समाचार

Related Articles