रिक्सा चालक केदार तिमल्सिनाले चिसोबाट जोगाए हजारौं नागरिकको ज्यान

चन्द्रपुर, ११ फागुन । रौतहटका एक इलेक्ट्रोनिक रिक्साचालक केदार प्रसाद तिमल्सिना न्यानो अभियानमार्फत गरिब तथा असहाय व्यक्तिहरूलाई सहयोग गर्दै आएका छन् । आफ्नो जीविकोपार्जनका लागि दिनभर रिक्सा चलाउने तिमल्सिनाले विगत केही वर्षदेखि समाजसेवामा समेत सक्रिय भूमिका खेल्दै आएका छन् ।
यस वर्षको न्यानो अभियान मंसिरको पहिलो हप्तादेखि सुरु भएको थियो । यस अभियान अन्तर्गत काठमाडौं–ललितपुरस्थित ’आशिक आवारा संस्था’ को तर्फबाट संकलित एक ट्रक कपडा तिमल्सिनाको घरमा पु¥याइएको थियो। संकलित कपडाहरूमा २०० भन्दा बढी उनका टोपी, ४०० वटा कम्बल, तथा अन्य विभिन्न लुगाफाटा समावेश थिए । पहिलो चरणमा सर्लाहीको हरिऔन नगरपालिकास्थित मानव सेवा आश्रममार्फत कम्बल र टोपीहरू वितरण गरियो । बाँकी कपडाहरू रौतहट जिल्लाका विभिन्न स्थानहरूमा रहेका गरिब तथा असहाय व्यक्तिहरूलाई प्रदान गरिएको छ । केदार तिमल्सिनाले रौतहटको फतुवा विजयपुर, चन्द्रपुर नगरपालिका वडा नं. २ जुडिबेला, फुलबारी, गुजरा नगरपालिकाको मैरा, तथा चन्द्रनिगाहपुर चोकमा हजारौं व्यक्तिहरूलाई न्यानो कपडा वितरण गरेका छन् । उनले यस अभियानलाई थप प्रभावकारी बनाउन विभिन्न संघ–संस्थाहरू तथा स्थानीय व्यक्तिहरूसँग सहकार्य गरिरहेका छन् । समाजसेवाको भावना बोकेका तिमल्सिनाले विगतमा पनि विभिन्न सहयोग कार्यक्रमहरू सञ्चालन गरेका छन् । विगत वर्षहरूमा उनले सडकमा बस्ने असहाय व्यक्तिहरूलाई न्यानो कपडा वितरण गरेका थिए । साथै, उनले कोरोना महामारीको समयमा मास्क, स्यानिटाइजर तथा खाद्यान्न वितरणमा समेत महत्वपूर्ण भूमिका खेलेका थिए ।
रिक्सा चलाउँदै आफ्नो परिवारको गुजारा चलाउने तिमल्सिनाले समाजसेवाको लागि समय निकाल्नु असाधारण कुरा हो । आफ्नो सीमित स्रोत–साधनका बाबजुद उनी निरन्तर असहाय तथा विपन्न वर्गको सेवा गरिरहेका छन् । उनका अनुसार, “समाजसेवा गर्न ठूलो धन आवश्यक हुँदैन, सानो प्रयासले पनि कोही न कोहीलाई राहत दिन सकिन्छ । उनको सेवाभावप्रति स्थानीयहरूले खुलेर प्रशंसा गरेका छन् । चन्द्रनिगाहपुरका वृद्ध बुद्धिमान भन्छन्, “केदारजीले दिएको न्यानो कम्बलले जाडोमा धेरै राहत मिलेको छ । यस्ता समाजसेवीहरू नेपालमा धेरै भए गरिबले दुख भोग्नुपर्दैन । तिमल्सिनाले आगामी दिनमा पनि समाजसेवा जारी राख्ने प्रतिबद्धता जनाएका छन् । हाल उनी न्यानो अभियानलाई अझ प्रभावकारी बनाउन थप कपडा संकलन गर्ने योजनामा छन् । केदार तिमल्सिनाको अभियान समाजसेवाको उत्कृष्ट उदाहरण हो । सीमित साधन भए पनि सच्चा सेवा गर्ने इच्छाशक्ति भएमा समाजमा परिवर्तन ल्याउन सकिन्छ भन्ने प्रेरणादायी कथा उनका कार्यहरूबाट स्पष्ट देखिन्छ ।

 

ताजा समाचार

Related Articles