वृन्दावन, ११ फागुन । विद्युत शुल्क नतिर्ने वृन्दावन नगरपालिका बन्तर्गतका दुई वटा खानेपानी योजनाको लाइन काटिएको छ । लामो समयदेखि विद्युत महसुल नबुझाएको कारण दुई खानेपानी योजनाको लाइन काटिएको हो ।
नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख धीरेन्द्रकुमार यादवका अनुसार वृन्दावन नगरपालिका वडा नं–१ स्थित रमौली खानेपानी तथा सरसफाई उपभोक्ता समिति र वडा नं–२ मा रहेको धनगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको लाइन बन्द गरिएको हो ।
वितरण केन्द्रका अनुसार रमौली खानेपानी समितिको १ लाख ४७ हजार ७३८ रुपैयाँ ४१ पैसा र धनगढी खानेपानी समितिको ८२ हजार १७५ रुपैयाँ ३४ पैसा विद्युत महसुल बाँकी रहेको छ । बारम्बार ताकेता गर्दा पनि रकम नबुझाएपछि विद्युत आपूर्ति बन्द गर्नुपरेको वितरण केन्द्रले जनाएको छ ।
जसमध्ये रमौली खानेपानी समिति आज ३० हजार बुझाको वितरण केन्द्रले जनाएको छ ।
यता स्थानीय बासिन्दाहरुले खानेपानी आपूर्ति ठप्प हुँदा दैनिक जीवन प्रभावित भएको गुनासो गरेका छन् । उनीहरुले समस्या समाधानका लागि तत्काल वैकल्पिक व्यवस्था गर्न माग गरेका छन् ।
खानेपानी समितिहरूको चरम लापरबाहीका कारण महसुन बाँकी रहेको एक जना स्थानीयले बताए ।

