रौतहट,२९ माघ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेस र एमाले सत्तासाझेदार मात्र नभई प्रतिस्पर्धी पनि भएको बताएका छन् । एमाले जिल्ला कमिटी, रौतहटद्वारा आयोजित “तीन महिने वडा वा जरा केन्द्रित अभियान” सम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले यस्तो कुरा व्यक्त गरेका हुन् ।
ज्ञवालीका अनुसार कांग्रेस-एमालेबीचको सहकार्यले “आयाराम गयाराम” प्रवृत्तिको अन्त्य गरेको छ । उनले भने, “प्रचण्डको जादुई नम्बर ३२ सांसद भएको पार्टीको प्रधानमन्त्री बन्ने सिस्टम फेल भएको छ । स्थिर सरकार बनेको छ, पुँजीगत खर्च बढेको छ, र आयात-निर्यातमा सुधार भएको छ ।
सरकार बनेपछि सत्य निरूपण तथा मेलमिलाप आयोग सर्वसम्मतिले पारित भएको भन्दै ज्ञवालीले विगतमा पीडित परिवार “सास छ, न लास छ” को अवस्थाबाट गुज्रिएको तर अब उनीहरूले न्याय पाउने बताए ।
विदेश नीति बारेमा उनले स्पष्ट गर्दै भने, हामी न भारतका पक्षधर हौं, न चीनका विरोधी। हामी नेपालका पक्षधर हौं । नेपालको विकास भारत र चीन दुवैसँग मिलेर गर्नुपर्छ ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, मधेस प्रदेश कमिटी इन्चार्ज लीलानाथ श्रेष्ठ, केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज अजय कुमार गुप्ता, मधेस प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डललगायतका नेताहरूले संगठनलाई सशक्त बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

