बागमती पुलको स्पर मर्मत कार्य तीव्र

रुपेन्द्र पटेल
रौतहट, २९ माघ । रौतहट र सर्लाहीलाई जोड्ने बागमती नदीमाथिको पुल मर्मत कार्य तीव्र रुपमा अगाडि बढाइएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने उक्त पुलको बिम (गिर्डर) चर्किएपछि डिभिजन सडक कार्यालय, चन्द्रनिगाहपुरले मर्मत कार्य सुरु गरेको हो ।

डिभिजन कार्यालयका प्रमुख अरुणकुमार कर्णका अनुसार मर्मत कार्य सहज बनाउनका लागि करिब डेढ किलोमिटर लामो अस्थायी ड्राइभर्सन निर्माण गरिएको छ । माघ २६ गते ड्राइभर्सन निर्माण कार्य सम्पन्न भएसँगै माघ २८ गतेदेखि पुल मर्मत कार्य थालिएको हो ।

करिब ५५ वर्षअघि निर्माण गरिएको यो पुलको सर्लाहीतर्फबाट आउँदा पाँच नम्बर र रौतहटतर्फ जाँदा सात नम्बरको स्परमा करिब ८ सेन्टिमिटर बिम चर्किएको छ । पुल महाशाखाको निरीक्षण टोलीले स्थलगत मूल्याङ्कनपछि मर्मतको सिफारिस गरेपछि पुनर्निर्माण प्रक्रिया अघि बढाइएको हो ।

मर्मत कार्य अन्तर्गत उच्च गुणस्तरको कङ्क्रिट प्रयोग गरी पुलको संरचना बलियो बनाइनेछ । अन्य बिमको सरसफाइ तथा बेरिङ र कङ्क्रिटको अवस्था परीक्षण गरिनेछ ।

सवारी आवागमनलाई सुरक्षित बनाउन माघ २७ गतेदेखि पुलमा यातायात रोक लगाइएको छ । मर्मत कार्य द्रुत गतिमा अघि बढाइरहेको र फागुन २ गतेभित्र पुल पुनः सञ्चालनमा ल्याउने लक्ष्य रहेको प्रमुख कर्णले जानकारी दिएका छन् ।

ताजा समाचार

Related Articles