रौतहट, २९ माघ । नेपाली कांग्रेस मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले मधेश प्रदेश सरकारलाई असफल भएको आरोप लगाएका छन् ।
सोमबार गौरमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै गुप्ताले प्रदेश सरकार विकासको सट्टा भाषणमै सीमित रहेको बताएका छन् । हालसम्म कुल बजेटको ४० प्रतिशत खर्च हुनुपर्ने हो, तर विकासका नाममा केही भएको छैन, उनले भने । गुप्ताले जबसम्म नेपाली कांग्रेसको नेतृत्वमा मधेश सरकार बन्न सक्दैन, तबसम्म विकास असम्भव रहेको दाबी गरे । उनले सरकारको नीति भ्रष्टाचार, कमिशन र लुटतन्त्रमा फसेको भन्दै आलोचना गरे ।
उनले नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साना कर्मचारीलाई मात्र कारबाही गर्ने तर ठूला अधिकारीलाई संरक्षण गर्ने प्रवृत्तिले भ्रष्टाचार मौलाउँदै गएको बताए । भ्रष्टाचार अन्त्य गर्न कर्मचारीको तलब वृद्धि आवश्यक समेत रहेको उनले थपे ।
कर्मचारी युनियनको अधिवेशन सफल रहोस् भनी शुभकामना दिँदै गुप्ताले प्रशासनमा एकरुपता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

