चन्द्रपुर, २८ माघ । चन्द्रपुर नगरपालिका–४ स्थित तुलसीलाल स्मृति रंगशाला, चन्द्रनिगाहपुरमा आउँदो फागुन ५ देखि १७ गतेसम्म चौथो चन्द्रपुर महोत्सव २०८१ आयोजना हुँदैछ । महोत्सवको मुख्य आकर्षणका रूपमा चर्चित कलाकार रचना शिवाकोटीले फागुन ६ र ७ गते विशेष नृत्य प्रस्तुति दिनेछिन् । आयोजक चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटा (सुरेन) का अनुसार, महोत्सवमा पाँच दर्जनभन्दा बढी स्वदेशी तथा विदेशी कलाकारहरूको सहभागिता रहनेछ ।
महोत्सवको उद्देश्य चन्द्रपुर नगरपालिकाको सांस्कृतिक, आर्थिक र सामाजिक विकासमा टेवा पु¥याउनु रहेको छ । यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, व्यापार मेला, कृषि प्रदर्शनी, स्थानीय उत्पादनहरूको प्रदर्शनी, बाल उद्यान, तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिनेछन् । महोत्सवले स्थानीय व्यवसाय, कृषि, पर्यटन र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
यस महोत्सवमा स्थानीय कलाकारहरूको प्रस्तुति, राष्ट्रिय स्तरका गायक–गायिका, नृत्य समूह, हास्य कलाकार, तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिनेछन् । साथै, स्थानीय उत्पादनहरूको प्रवद्र्धनका लागि स्टलहरू राखिनेछन्, जसले स्थानीय उद्यमीहरूलाई आफ्नो उत्पादन प्रदर्शन र बिक्री गर्न अवसर प्रदान गर्नेछ ।
महोत्सवको तयारी तीव्र रूपमा भइरहेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघले जनाएको छ । आयोजक टिमले सबैलाई महोत्सवमा सहभागी भई कार्यक्रमको शोभा बढाउन आग्रह गरेका छन् ।

