गुजरा, २८ माघ । रौतहटको गुजरा नगरपालिकामा एचपिभि खोप अभियानलाई प्रभावकारी बनाउन नगर स्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरूको अभिमूखिकरण बैठक सम्पन्न भएको छ। स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाको सभाहलमा बसेको उक्त बैठकमा खोप कार्यक्रमको लक्ष्य, उद्देश्य, उपलब्धि, तथा पाठेघरको मुखको क्यान्सर निवारणका रणनीति बारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
बैठकमा एचपिभि खोप अभियानको औचित्य, सञ्चालन प्रक्रिया, तथा समन्वय समिति, सञ्चार क्षेत्र र सरोकारवालाहरूको भूमिकाका बारेमा छलफल गरिएको थियो। साथै, अभियान सञ्चालन योजना, तयारी अवस्था, आवश्यक स्रोत परिचालन तथा जिम्मेवारी बाँडफाँडका विषयमा गहन विमर्श गरिएको थियो।
स्वास्थ्य संयोजक विजय चौधरीका अनुसार गुजरा नगरपालिकामा माघ ३० देखि फागुन ६ गतेसम्म सञ्चालन हुने एचपिभि खोप अभियान अन्तर्गत २ हजार ८ सय ९७ छात्रा तथा किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ। सो लक्ष्यमा कम्तीमा ९० प्रतिशतलाई खोप लगाउने अनिवार्यता रहेको उनले जानकारी दिए। औसतमा प्रत्येक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरिएको हुँदा, १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरू कोही पनि नछुटाउनुपर्नेमा उनले विशेष जोड दिए।
अभिमूखिकरण कार्यक्रममा गुजरा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोक खाँ थारु, वडा नम्बर ४ का वडा अध्यक्ष झमक चौलागाईं, वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम चौधरी, शिक्षा शाखा प्रमुख शिवमंगल साह, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, सञ्चारकर्मीहरू तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

