काठमाडौं, १६ माघ । देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहँदा अधिकांश स्थानमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भए पनि अन्यत्र मौसम मुख्यतः सफा छ। तर, तराईका धेरै स्थानहरूमा लागेको बाक्लो हुस्सु र कुहिरो क्रमशः हट्दै जाने अनुमान गरिएको छ।
दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने राति कोशी प्रदेशका पहाडी भू-भागमा मात्र केही बदली हुने सम्भावना छ।
तराईका धेरै स्थानमा लागेको हुस्सु र कुहिरो मध्यान्हपछि क्रमिक रूपमा हट्नेछ। मधेश र कोशी प्रदेशमा अपराह्नपछि सुधार आउने अनुमान छ भने सुदूरपश्चिमका तराई क्षेत्रमा मध्याह्नसम्म कुहिरो हट्नेछ।
हुस्सु र कुहिरोका कारण तराई क्षेत्रका जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले अनुरोध गरेको छ।

