दुइ वर्षमा बन्ने पुल आठ वर्षमा पनि बनेन,पाँच पटक म्याद थप्दा पनि मात्र ७० प्रतिशत काम सम्पन्न

रौतहट, ११ माघ । रौतहटको गुजरा नगरपालिका(१ कोठियारमा रहेको लमाहा खोलामा निर्माणाधीन पुलको काम पाँच पटक म्याद थप्दा पनि सम्पन्न हुन सकेको छैन् । सो पुल निर्माणको ठेक्का श्री पप्पु÷शिवशंकर जे.भि., गरुडा, रौतहटले लिएको थियो । चन्द्रपुर र गुजरा नगरपालिकालाई जोड्ने १ सय २५ मिटर लामो प्रिस्टूेस आर.सी.सी. पुल निर्माणको सम्झौता २०७३ सालको जेठ २ गते भएको थियो । पुल निर्माण कार्यको म्याद २०७५ साल असोज १५ गतेसम्म राखिएको थियो । तर, ठेकेदारको चरम लापरवाहीका कारण पुल निर्माण कार्य अझै पूरा भएको छैन ।
डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका सूचना अधिकारी इ. शिव नारायण प्रसाद साहका अनुसार, यस पुलको निर्माण कार्यलाई पाँच पटक म्याद थप गरिए पनि काम अबको म्यादसम्म पनि सम्पन्न हुने सम्भावना अझै अन्यौल रहेको छ ।
ठेकेदार कम्पनीले एकै समयमा ६ वटा पुल निर्माणको ठेक्का सँगै लिएर कार्यभार बढाएको थियो । जसका कारण पुल निर्माणमा ढिलाइ भएको हुन सक्ने अनुमान गरिको हो ।
सो पुल निर्माणको लागि मूल्य अभिवृद्धि कर सहित ९ करोड २२ लाख ७७ हजार ५ सय ५९ रुपैयाँको ठेक्का लागेको थियो । पुल निर्माणको काम हालसम्म ७० प्रतिशत मात्र सम्पन्न भएको सूचना अधिकारी साहले जानकारी दिइएको छ ।
डिभिजन सडक कार्यालयले ठेकेदारलाई अहिलेसम्म ५ करोड ४५ लाख ४५ हजार ८ सय २८ रुपैयाँ भुक्तानी गरिसकेको साहले बताए ।
पुल निर्माण कार्य समयमै सम्पन्न नहुँदा, स्थानीय बासिन्दाहरू ठूलो सास्तीको सामना गरिरहेका छन् ।
कोठियारटोलका स्थानीय राजकुमार कटुवालले भने, पुल बन्ने आशामा ८ वर्ष बितिसकेको छ, अब पुल बन्ने आशा मरिसकेको छ ।
कटुवालले भने, ठेकेदारलाई समान राख्न दिइयो, बिजुली पनि दिइयो, तर न त पुल बन्यो, न त बिजुलीको पैसा आयो । उनले अझ भने, “पुल निर्माण कार्यमा समाग्री रेखदेख गर्ने तीन वर्षको ज्याला पनि नदिई ठेकेदार बेपत्ता भएको छ । सिम्रा घर भएका सुनिल चौधरीले पनि गुनासो गर्दै भने, पुल नबनेको कारण यहाँका सर्वसाधारणलाई अत्यधिक सास्ती भोग्नु परेको छ । मोटरसाइकल र साइकललाई डोराएर हिँड्नुपर्ने बाध्यता परेको छ ।
स्थानीय हरि सापकोटाले भने, पुल नबनेको कारण वर्षामा दर्जनभन्दा बढी गाउँका बासिन्दाहरुलाई लामो फेरो गरेर हिँड्नुपर्ने समस्या परेको हो । यहाँका किसानहरुलाई रंगपुर र कोठियारबीचको बाटोबाट खेतबारी जानुपर्छ, यो पुल नबन्दा उनीहरुको यात्रा निकै कठिन बनेको छ ।
स्थानिय बासिन्दाहरुले ठेकेदारलाई शीघ्र निर्माण कार्य सम्पन्न गर्न र ठेकेदारको लापरवाहीको जिम्मेवारी तोक्न पनि माग गरेका छन् । यसरी लामो समयसम्म पुलको निर्माण पूरा नगरेको ठेकेदारलाई कारवाही गर्ने माग स्थानीयले गर्न थालेका छन् ।

ताजा समाचार

Related Articles