चन्द्रपुर,११ माघ । चन्द्रपुर नगरपालिकाले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्दै विपद् व्यवस्थापनका लागि प्रभावकारी नीति निर्माण गर्न कार्यशाला सम्पन्न गरेको छ ।
नेपाल जलवायु परिवर्तन अनुकूलन तथा पैरवी परियोजना अन्तर्गत “जलवायु परिवर्तन नीति तथा विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि निर्माणशाला“ चन्द्रपुर नगरपालिकाको आयोजनामा र अक्सफाम नेपालको आर्थिक सहयोग तथा ग्रामीण विकास केन्द्र नेपालको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय काफ्लेले गर्नुभएको थियो । उहाँले जलवायु परिवर्तनका कारण चन्द्रपुर नगरपालिकाका विभिन्न क्षेत्र, विशेषगरी कृषि,मा रोग किरा, चुरे क्षेत्र, बाढी, पहिरो , भूक्षय, र वन विनाशजस्ता समस्याले प्रत्यक्ष प्रभावित हुँदै आएको बताउनुभयो । उहाँले यस्तो प्रभावलाई न्यूनीकरण गर्न दीर्घकालीन योजना र प्रभावकारी नीति आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यशालामा चन्द्रपुर नगरपालिकाको समग्र क्षेत्र, विशेषगरी चुरे क्षेत्र, जलवायु परिवर्तनका कारण देखिएका प्रमुख समस्याहरू र तिनको समाधानबारे गहन छलफल गरियो । सहभागीहरूले बाढी, सुक्खा, खेती प्रणालीमा देखिएका समस्या, जलस्रोतको अभाव, र जंगल विनाशजस्ता चुनौतीहरूमाथि धारणा राख्दै नीति निर्माणका लागि महत्त्वपूर्ण सुझाव प्रस्तुत गरे । कार्यक्रमको सहजिकरण राजकुमार कुवर र बिमल घिमिरेले गर्नुभएको थियो । कार्यक्रमको निष्कर्षमा नगरप्रमुख काफ्लेले यस कार्यशालाबाट संकलित सुझाव र धारणा समेटी प्रभावकारी नीति निर्माण गरिने बताउनुभयो । उहाँले स्थानीय र संघीय सरकार तथा साझेदार संस्थाहरूको सहयोगमार्फत दीर्घकालीन समाधान खोजिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा उपमेयर जयमाला चौधरी, प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी, १० वटै वडाका वडाध्यक्षहरू,चन्दपुर नगरपालिका शाखा प्रमुखहरु, इलाका प्रहरी कार्यालयका प्रमुख राजकुमार राईलगायत अक्सफाम नेपाल का विवेक कार्की आर डि सि नेपालका कार्यकारी निदेशक आर्शिष कुमार सिह , चिरञ्जीवी महतो , ज्योति फुयाल फोकफोन का प्रतिनिधि भुम्रक्षणका प्रतिनिधि,सशस्त्र प्रहरीका प्रतिनिधि , लगायत विभिन्न सरोकारवालाहरूको उपस्थिति थियो ।
यस कार्यशालाबाट जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्दै चन्द्रपुर नगरपालिकाको प्राकृतिक स्रोत र संरचनाको संरक्षण तथा समग्र नगरपालिकाको दिगो विकासका लागि योगदान पुग्ने विश्वास लिइएको छ ।

