रौतहट, ८ माघ । रौतहट जिल्लाको वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोदप्रसाद कुर्मीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मृगौला पीडित उपेन्द्र महरालाई रु. २५ हजार आर्थिक सहयोग प्रदान गरेका छन्।
वृन्दावन नगरपालिका–६, हर्षाहा निवासी ३४ वर्षीय महरा विगत तीन वर्षदेखि दुबै मृगौलाले काम गर्न छाडेपछि डायलाइसिसको भरमा जीवनयापन गर्दै आइरहेका छन्। नगरप्रमुख कुर्मीले पिडित महरालाई रु. २५ हजारको चेक हस्तान्तरण गर्दै उपचारमा सधैं सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए।
यस्तै गम्भीर रोगबाट ग्रसित अति विपन्न, गरिब, र दलित वर्गका नागरिकलाई आफूले निरन्तर सहयोग गर्दै आएको पनि उनले बताए। उपेन्द्र महराको मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेको र आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेकोले नगरपालिकाको तर्फबाट सहयोग गरिएको नगरप्रमुख कुर्मीले जानकारी गराए।
साथै, पिडितको थप उपचारमा सहयोगका लागि पनि पहल गरिरहने र अन्य दाताहरुलाई समेत सहयोग गर्न आह्वान गरेका छन्। यो सहयोगलाई स्थानीय जनताले अत्यन्त सकारात्मक रूपमा लिएका छन्। यसले नगरप्रमुख कुर्मीको जनसेवा प्रतिको प्रतिबद्धता झल्काउनुका साथै सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

