रौतहटमा जंगली हात्ती नियन्त्रणका लागि प्रयास तीव्र

रौतहट, ८ माघ । रौतहटको उत्तरी भेगमा जंगली हात्तीको आतंक बढेसँगै स्थानीय बासिन्दा त्रसित भएका छन् । जंगली हात्तीले दर्जनौँ घर भत्काउनुका साथै खेतबारीमा व्यापक क्षति पु¥याएपछि स्थानीयले तत्काल समाधानका लागि डिभिजन वन कार्यालय रौतहटलाई अनुरोध गरेका छन् ।

डिभिजन वन कार्यालयले यस समस्यालाई गम्भीर रूपमा लिँदै पर्सा राष्ट्रिय निकुञ्जका विशेषज्ञ टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरेको छ । भेटनरी अधिकृत डा. अमिर सडौला र वन्यजन्तु प्राविधिक तिर्थ लामाको नेतृत्वमा रहेको टोलीले मंगलबार चन्द्रपुर नगरपालिका वडा नं. २, जुडीबेलाको निरीक्षण गरेको छ । उनीहरुले हात्तीले पु¥याएको क्षतिको अध्ययन गर्दै हात्तीको खोजी र नियन्त्रणका लागि जङ्गलभित्र अभियान सञ्चालन गरेका छन् ।

यसै सन्दर्भमा गत शनिबार चन्द्रपुरस्थित होटल आरोहीमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त कुमार साह, संघीय सांसद देवप्रसाद तिमल्सिना, प्रदेशसभा सदस्य युवराज भट्टराई, चन्द्रपुर नगरप्रमुख सञ्जय काफ्ले, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल पत्रकार महासङ्घ रौतहट लगायतका विभिन्न सरोकारवालाहरूको सहभागिता थियो ।
गोष्ठीले जङ्गली हात्तीको आतङ्क नियन्त्रणका लागि ६ वटा महत्त्वपूर्ण निर्णयहरू गरेको थियो ।
प्रभावित क्षेत्रका पोलपोलमा बत्ती र चोकचोकमा आगोको व्यवस्था, हात्ती नियन्त्रणका लागि नियमित गस्ती तथा गस्ती टोलीलाई आवश्यक इन्धनको व्यवस्था, हात्तीले पु¥याएको क्षतिको विवरण सङ्कलन र क्षतिपूर्ति उपलब्ध गराउने, किसान र स्थानीय बासिन्दाका लागि राहत कार्यक्रम सञ्चालन, हात्ती व्यवस्थापनका लागि स्थानीय, प्रदेश, र संघीय निकायबीच समन्वय गर्ने लगायतका निर्णय गरिएको थियो ।

हात्तीले चन्द्रपुरको जुडीबेला, गैंडाटार, बृन्दावनको बलेरी, गुजराको केही स्थान र फतुवा विजयपुरमा जंगली हात्तीको सक्रियता बढिरहेको छ । डिभिजन वन कार्यालय रौतहटले हात्ती आतंक नियन्त्रणका लागि पर्सा राष्ट्रिय निकुञ्जलाई बारम्बार आग्रह गर्दै आएका थिए ।

ताजा समाचार

Related Articles