नेपाल–भारत मैत्री संघद्वारा अग्नि पीडितलाई राहत समाग्री सहयोग

रौतहट, ७ माघ । नेपाल–भारत मैत्री संघ केन्द्रीय कार्यालय काठमाडौंको सहयोग र संघको रौतहट जिल्ला कार्यसमितिको सहकार्यमा रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं–५ पताहीका अग्नि पीडित परिवारलाई सोमबार राहत सामग्री वितरण गरिएको छ ।
गत पुस १४ गते मध्यरातमा भएको आगलगीबाट ८ घर परिवारको घर तथा सम्पत्ति पूर्ण रुपमा नष्ट भएको थियो । पीडित परिवारहरुलाई नेपाल–भारत मैत्री संघले चामल, दाल, नुन, तेल, कम्बल, साडी, लुंगी, नुहाउने र लुगा धुने साबुनलगायतका राहत सामग्री वितरण गरेको हो ।
कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष चन्द्रमोहन झा, केन्द्रीय सदस्य सत्यनारायण अग्रवाल र अरुण सिंह, मधेश प्रदेश अध्यक्ष रणधीर कुमार सिंह, तथा वडाध्यक्ष सुरेश पण्डितलगायतको उपस्थिति रहेको थियो ।
प्रत्येक पीडित परिवारलाई चामल २५ किलो, दाल ३ किलो, तेल १ लिटर, नुन १ किलो, कम्बल २ थान, साडी २ थान, लुंगी १ थान, नुहाउने साबुन २ वटा, र लुगा धुने साबुन २ वटा वितरण गरिएको जिल्ला अध्यक्ष ग्रीसनंदन कुमार सिंहले जानकारी दिए ।
केन्द्री कार्यवाहक अध्यक्ष झाले आगलगीबाट पीडित परिवारहरूको अवस्थाप्रति गहिरो सहानुभूति व्यक्त गर्दै घाइतेहरुको घाउमा मल्हम लगाउने प्रयास गरिएको बताए । उनले भविष्यमा पनि थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
पीडित परिवारहरुले घर र सम्पत्ति नष्ट भएको भन्दै पुनर्निर्माणका लागि सहयोग गर्न अपिल गरेका थिए । मधेश प्रदेश अध्यक्ष रणधीर कुमार सिंहले स्थानीय सरकारले जग्गा व्यवस्थापन गरेमा संघले जस्तापाताको व्यवस्था गर्न सिफारिसमार्फत सहयोग गर्ने बताए ।
प्रदेश अध्यक्ष सिंहले यस्तो आपत्कालीन परिस्थितिमा सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याउँदै पीडितको जीवन पुनर्निर्माणका लागि समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । यस दुःखद घटनाले स्थानीय प्रशासन, संघसंस्था, र समुदायबीच एकताबद्ध भएर सहयोग गर्ने मानवीयता झल्काएको छ ।

 

ताजा समाचार

Related Articles