राैतहट ७ माघ
रौतहटबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । राैतहटकाे ईशनाथ नगरपालिका – ४ को लतमरी नेपाल-भारत सीमा क्षेत्र नजिकबाट सशस्त्र प्रहरीले आइतबार राति एक भारतीय नागरिक पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहार पूर्वी चम्पारण जिल्ला मोतिहारी बसन्तपुर ग्रामपञ्चाय – ९ का २६ वर्षीय धनञ्जय कुमार झालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका गणपति (एसपी) विक्रम हुमागाईँले तराई पाेष्टलाई जानकारी दिनु भयाे । हुमगाईका अनुसार, पक्राउ परेका झाको साथबाट अटोमेटिक पेस्तोल १ थान, म्याग्जीन १ थान, ७.६७ मि.मि ४ राउण्ड गोली बरामद भएको छ । घटनास्थलबाट वि आर ०५ बीडी १२२४ नम्बरको मोटरसाइकल बरामद गरिएको उहाले जानकारी दिनु भयाे । ३ जना व्यक्ति एक होटेलमा बसेर खाजा खाइरहेको अबस्थामा गतिविधि शङ्कास्पद रहेको खबर पाउन साथ सशस्त्र प्रहरी बलको टोली मठियाबाट खटिएको एसपी हुमागाईँले बताउनु भयाे । अन्दाजी आइतबार राति साढे ८ बजेको समयमा त्यस पसलमा सशस्त्र प्रहरीको टोली पुग्दा दुई जना फरार भएकाे भएपनि हतियार बोकेका एक जनालाई पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले जनाएको छ । पक्राउ परेका झालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएकाे रौतहट सशस्त्र प्रहरीले जानकारी जनाएकाे छ ।

