रौतहटको जंगलमा मृत अवस्थामा चितुवा फेला, स्थानीय भन्छन् सिकारीले मारे, वन कर्मचारी भन्छन् कालगतिले मरे

रुपेन्द्र पटेल
रौतहट, १ माघ । पछिल्लो समय रौतहटको वन क्षेत्रमा चोरी शिकारी बढेको स्थानीय बासिन्दाहरुले बताएका छन् । वन क्षेत्रको सुरक्षामा कमी, वन संरक्षणका लागि आवश्यक जनशक्तिको अभाव, तथा प्रभावकारी नीति तथा कार्यान्वयनको कमीले गर्दा चोरी शिकारी जस्ता क्रियाकलाप बढ्दै गएको हो ।
जिल्लको वृन्दावन सबडिभिजन वन कार्यालय अन्तर्गतको जंगलमा अन्दाजी १० देखि १२ वर्ष उमेरको एक चितुवा मृत अवस्थामा फेला परेको छ । सोमबार साझ स्थानीयले कुलोमा बगेर गाउँ नजिकै आएको चितुवाको शव देखेपछि वन कार्यालयलाई खबर गरेका थिए ।
चितुवालाई वृन्दावन सबडिभिजन वन कार्यालयमा ल्याएर स्थानीय प्रशासन र जनप्रतिनिधिको रोहबरमा खाडल खनेर गाडिएको छ । वन कार्यालयका फरेष्टर जय प्रकाश साहका अनुसार चितुवा मृत अवस्थामा फेला परेको र यसको मृत्युको कारणबारे विभिन्न अड्कलबाजी गरिएको छ ।
मृत चितुवाको मुखबाट रगत बगेको देखिएपछि स्थानीय बासिन्दाले चितुवा सिकारीको शिकार हुन सक्ने आशंका गरेका छन् । यद्यपि, यसबारे औपचारिक पुष्टि हुन सकेको छैन ।
डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत राम गणेश साहले भने, चितुवाको मृत्यु प्राकृतिक कारणले भएको दाबी गरेका छन् । उनका अनुसार शिकारीले मारेको भए गोली अथवा प्रहारको कारण चोट वा घाउ देखिनुपर्ने थियो । तर, यस्तो कुनै प्रमाण भेटिएको छैन । चितुवा बुढेसकालका कारण मरेको हुनसक्छ साहले भने ।
चितुवाको मृत्युले वन्यजन्तुको संरक्षणमा थप चुनौती ल्याएको छ । शिकारीको संलग्नताको आशंका सन्देहमात्रै भए पनि यसको गहिरो अनुसन्धान आवश्यक छ ।

ताजा समाचार

Related Articles