चन्द्रपुर,१ माघ । रौतहट जिल्लाको गुजरा नगरपालिकामा नगर अस्पताल सञ्चालनका लागि केही दिनअघि करार कर्मचारी भर्नाका लागि प्रकाशित विज्ञापनमा अनियमितता भएको भन्दै परीक्षार्थीहरूले विरोध जनाएका छन् । उनीहरूले सोमबार नगरपालिकाको कार्यालयमा ताला बन्दी गर्दै निष्पक्ष प्रक्रिया अपनाउन माग गरेका छन् ।
विज्ञापनअनुसार परीक्षा प्रक्रिया अघि बढाइए पनि परिणाम सार्वजनिक नगरी अनियमित चलखेल गरी नियुक्ति प्रक्रिया अघि बढाइएको भन्दै परीक्षार्थीहरूले असन्तुष्टि व्यक्त गरेका हुन् । उनीहरूले निष्पक्ष र पारदर्शी पुनः परीक्षा गराउन माग गरेका छन् । ताला बन्दीका कारण नगरपालिकाको नियमित कामकाज प्रभावित भएको छ । परीक्षार्थीहरूको समूहले निष्पक्षता कायम नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएको छ । यस विषयमा नगरपालिकाका अधिकारीहरूसँग सम्पर्क गर्दा उनीहरूले यो विषयमा छानबिन भइरहेको र चाँडै उचित समाधानको प्रयास गरिने जानकारी दिएका छन् । तर, असन्तुष्ट परीक्षार्थीहरू भने ठोस कदम चाल्न नगरपालिकाले ढिलाइ गरिरहेको आरोप लगाउँदै आएका छन् ।

